काठमाण्डौँ । भारतको मुम्बईमा जारी रणजी ट्रफी क्रिकेट प्रतियोगितामा प्रदूषणका कारण खेलाडीहरूले मास्क लगाएर खेल्नुपरेको छ ।
दिल्लीविरुद्धको खेलको पहिलो दिन बान्द्रा कुर्ला कम्प्लेक्समैदान नजिकै भइरहेको निर्माण कार्य (कन्स्ट्रक्सन) बाट उडेको धुलो र धुवाँका कारण मुम्बईका खेलाडी समस्यामा परेका हुन् ।
खेलको तेस्रो सत्रमा मुम्बईका ब्याटर सरफराज खान, उनका भाइ मुशिर खान र स्पिनर हिमांशु सिंह मास्क लगाएर फिल्डिङ गरिरहेको देखिएका थिए। बिहीबार त्यहाँको वायु गुणस्तर सूचकांक १६० को आसपास थियो, जसलाई स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।
सामान्यतया क्रिकेट मैदानमा खेलाडीले मास्क लगाएको देखिँदैन । तर, मैदानको ठीक छेउमै भवन निर्माणको काम भइरहेकाले धेरै धुलो उडेर सास फेर्न गाह्रो भएपछि खेलाडीहरूले मास्कको सहारा लिएका हुन् ।
मुम्बईका बलर मोहित अवस्थीका अनुसार प्रदूषणले सास फेर्न समस्या भएपछि करिब आधा घण्टासम्म उनीहरूले मास्क लगाएका थिए, तर पछि भने हटाएका थिए ।
यसैबीच, आइसिसी विश्वकप २०२६ का खेलहरू पनि अर्को हप्तादेखि सुरु हुँदैछन् । यस प्रतियोगिताको समूह सी मा रहेको नेपालले आफ्ना सबै खेलहरू मुम्बईमा नै खेल्ने तय भएको छ ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्