बंगलादेशको स्थानमा २०२६ को विश्वकप स्कटल्यान्डले खेल्ने

DaksuMedia दाक्सु मिडिया
|
माघ ११, २०८२

काठमाण्डौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आईसीसी मेन्स टी–२० विश्वकप २०२६ मा बंगलादेशको स्थानमा स्कटल्यान्डलाई सहभागी गराउने निर्णय गरेको छ।

आईसीसीले सार्वजनिक गरेको विज्ञप्तिमा प्रकाशित खेल तालिकाअनुसार प्रतियोगितामा सहभागी हुन बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले अस्वीकार गरेपछि स्कटल्यान्डलाई प्रतिस्थापन टोलीका रूपमा समावेश गरिएको हो ।

२० टोली सहभागी हुने उक्त प्रतियोगिता आगामी फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारतमा आयोजना हुँदैछ । बीसीबीले भारतमा हुने आफ्ना खेलहरू श्रीलंकामा सार्न माग गरेको थियो । तर, बंगलादेशी टोलीका लागि भारतमा कुनै पनि विश्वसनीय वा पुष्टि हुन सक्ने सुरक्षा खतरा नभएको निष्कर्ष निकाल्दै आईसीसीले उक्त माग अस्वीकार गरेको थियो ।

आईसीसीका अनुसार बीसीबीले उठाएका चिन्ताहरू समाधान गर्न तीन हप्ताभन्दा बढी समयसम्म विस्तृत प्रक्रिया अपनाइएको थियो । यस क्रममा आईसीसी र बीसीबीबीच भिडियो कन्फरेन्स तथा प्रत्यक्ष बैठकमार्फत संवाद गरिएको थियो ।

यस अवधिमा आईसीसीले आन्तरिक तथा बाह्य सुरक्षा विज्ञमार्फत स्वतन्त्र सुरक्षा मूल्याङ्कन गराएको थियो । साथै संघीय र राज्यस्तरीय सुरक्षा व्यवस्था, खेल अवधिभर लागू हुने कडा तथा चरणबद्ध सुरक्षा प्रोटोकलबारे विस्तृत योजना बीसीबीसँग साझा गरिएको थियो । यी विषयहरू आईसीसी बिजनेस कर्पोरेसन (आईबीसी) बोर्डको छलफलमा समेत पुनः दोहोर्‍याइएका थिए ।

सबै मूल्याङ्कनपछि भारतमा बंगलादेशी टोली, पदाधिकारी वा समर्थकहरूका लागि कुनै पनि ठोस सुरक्षा खतरा नरहेको निष्कर्षमा आईसीसी पुगेको विज्ञप्तिमा उल्लेख छ । यस आधारमा प्रतियोगिताको तालिका परिवर्तन गर्नु उपयुक्त नहुने निर्णय गरिएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *