काठमाण्डौँ । आईसीसी टी-२० विश्वकपको तयारीमा रहेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँग भएको दोस्रो अभ्यास टी-२० खेलमा पनि हार बेहोरेको छ ।
बिहीबार कोल्ट्स मैदानमा भएको खेलमा नेपाल ७३ रनले पराजित भएको हो । श्रीलंका ‘ए’ ले दिएको २२३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १४९ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि करण केसीले सर्वाधिक अविजित ४१ रन बनाए । लोकेश बमले २५ तथा कप्तान रोहित पौडेलले १८ रन बनाए । गुल्शन झाले १७ अनि सोमपाल कामीले १६ रन बनाए ।
अभ्यासका लागि श्रीलंकामा रहेको नेपाली टोली पहिलो खेलमा पनि पराजित भएको थियो । नेपाल र श्रीलंका ‘ए’ बीचको तेस्रो खेल शनिबार हुनेछ ।
त्यसपछि टोली भारत जानेछ । भारतमा मुम्बईको एमसीए प्रेसिडेन्ट ११ सँग पनि तीन अभ्यास टी-२० खेल हुने तालिका छ ।
टी-२० विश्वकप फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ । नेपालले फेब्रुअरी ८ मा पहिलो खेल इंग्ल्यान्डसँग खेल्नेछ ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्