काठमाण्डौँ । बार्सिलोनाका अनुभवी गोलकिपर मार्क–आन्द्रे टेर स्टेगन १२ वर्षपछि पहिलो पटक बार्सिलोनाबाहेक अन्य क्लबको प्रतिनिधित्व गर्ने भएका छन् ।
३३ वर्षीय जर्मन गोलकिपर बाँकी सिजनका लागि ऋण सम्झौतामा जिरोनामा आबद्ध हुन लागेका हुन् । यस कदमले टेर स्टेगनको जर्मनी राष्ट्रिय टोलीमा विश्वकपका लागि पहिलो रोजाइको गोलकिपर बन्ने सम्भावनालाई बल पुग्ने अपेक्षा गरिएको छ ।
पछिल्ला १५ महिनामा चोटका कारण सीमित खेल मात्र खेलेका टेर स्टेगनले यस सिजन बार्सिलोनाका लागि एक खेल मात्र खेलेका छन् । त्यो पनि गत महिना कोपा डेल रे अन्तर्गत तेस्रो डिभिजनको क्लब ग्वाडालाखाराविरुद्ध थियो ।
बार्सिलोनाका प्रशिक्षक हान्सी फ्लिकले यस सिजन जोआन गार्सियालाई पहिलो रोजाइको गोलकिपरका रूपमा निरन्तर मौका दिँदै आएका छन् ।
सिजनको सुरुआतमै टेर स्टेगन र क्लबबीच मेडिकल रिपोर्टमा हस्ताक्षरको विषयलाई लिएर विवाद भएको थियो। यसलाई बार्सिलोनाले तलब सीमाभित्र रहन आवश्यक ठानेको थियो ।
टेर स्टेगन सन् २०१४ मा आफ्नै बाल्यकालीन जर्मन क्लब बोरुसिया मोएनशेन्ग्लाडबाखबाट बार्सिलोनामा आएका थिए । उनले बार्सिलोनासँग ६ पटक ला लिगा उपाधि र एक पटक च्याम्पियन्स लिग जितेका छन् ।

दाक्सु मिडिया

तपाईको प्रतिक्रिया दिनुहोस्