एनपीएलमा आज दुई रोचक भिडन्त

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर ६

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण अन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुई रोमाञ्चक खेल हुँदैछन्। बिहानको पहिलो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स आमनेसामने हुनेछन् भने दिउँसोको दोस्रो खेलमा काठमाडौँ गुर्खाज र विराटनगर किंग्स भिड्नेछन्।

पहिलो खेलमा कर्णालीका कप्तान सोमपाल कामी र लुम्बिनीका skipper रोहितकुमार पौडेल नेतृत्वका टिमबीच प्रतिस्पर्धा हुनेछ। सुरुवाती खेलमा चितवनसँग पराजित कर्णाली आज पहिलो जित खोज्दै मैदान उत्रँदैछ भने पहिलो खेलमै चितवनलाई हराएको लुम्बिनी उच्च आत्मविश्वासका साथ लगातार दोस्रो जितको लक्ष्यमा हुनेछ।

दिउँसो ३ः३० बजे हुने दोस्रो खेल पनि उत्तिकै रोमाञ्चक मानिएको छ। काठमाडौँका फास्ट बलर तथा कप्तान करण केसी र विराटनगरका लेग स्पिनर सन्दीप लामिछानेबीचको प्रतिस्पर्धाले खेललाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ। काठमाडौँले दुई खेलमध्ये एक जित मात्र निकाल्दै दुई अंक हासिल गरेको छ भने विराटनगर पहिलो खेलमै पोखरालाई हराउँदै उत्साहित बनेको छ।

एनपीएल सिजन–२ अन्तर्गत सबै खेल कीर्तिपुरमै दिउँसो र रातिको सेसनमा हुँदै आएका छन्। क्यानले प्रत्येक खेलका लागि ९,४५० टिकट उपलब्ध गराउँदै आएको छ। मंसिर १ देखि सुरु भएको लिग मंसिर २७ गतेसम्म चल्नेछ।
टिकट मूल्य लिग चरणमा साधारण ५ सय र प्रिमियम १ हजार रहेको छ भने प्लेअफ चरणका लागि जनरल १ हजार र प्रिमियर २ हजार तोकिएको छ। समग्र सिजन हेर्न चाहनेका लागि क्यानले १५ हजार रुपैयाँको सिजनल पास समेत उपलब्ध गराएको छ।

एनपीएलमा आठ फ्रेन्चाइज टोली—जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्स—प्रतिस्पर्धामा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *