एमसीसीले नेपालका लागि थप्यो ५ करोड डलर

DaksuMedia दाक्सु मिडिया
|
२०८१ पुष १९

काठमाडौँ : मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को सञ्चालक समितिले नेपाल कम्प्याक्टका लागि थप ५ करोड अमेरिकी डलर सहयोग स्वीकृत गरेको छ।

एमसीसी बोर्डका अनुसार योसँगै नेपाल कम्प्याक्टको कूल बजेट ७४ करोड ७० लाख अमेरिकी डलर पुग्ने भएको छ। अब यो थप सहयोग प्रस्ताव नेपाल सरकारको स्वीकृतिका लागि पठाइनेछ।

एमसीसी कम्प्याक्ट अपरेसनका उपाध्यक्ष क्यामरन अल्फोर्डले भने, ‘यस अतिरिक्त आर्थिक सहयोगले नेपालको विद्युत् ग्रिडलाई बलियो बनाउने र दीर्घकालीन आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्ने दिशामा कम्प्याक्टको सफलता सुनिश्चित गर्ने हाम्रो साझा प्रतिबद्धतालाई पुष्टि गर्दछ।’

मिलेनियम च्यालेन्ज कर्पोरेसन आर्थिक वृद्धिमार्फत विश्वव्यापी गरिबी निवारण गर्न कार्यरत अमेरिकी सरकारको एक स्वतन्त्र विकास निकाय हो।

सन् २००४ मा स्थापित एमसीसीले सुशासन, भ्रष्टाचारविरुद्धको लडाइँ र लोकतान्त्रिक अधिकारको सम्मानसम्बन्धी कडा मापदण्ड पूरा गर्ने देशलाई पूर्वाधार निर्माण वा सुधारका साथै नीतिगत तथा संस्थागत सुधारमा लगानी गर्न समयसीमामा बाँधिएका अनुदान उपलब्ध गराउँछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *