×

सबै कुरा राम्रो हुँदाहुँदै पनि युवाहरूले देशभित्र भविष्य देखिरहेका छैनन् : रिजाल

पुस ८, २०८१ | दाक्सु मिडिया

काठमाडौँ : कांग्रेस नेता मीनेन्द्र रिजालले युवाहरूले नेपालमा सुरक्षित भविष्य देख्न छोडेको बताउँदै युवा पलायनको समस्यालाई चिर्न संविधान संशोधनको माध्यमबाट लोकतन्त्रका बाँकी पक्षमा काम गर्न जरुरी रहेको बताएका छन् ।

सोमबार नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

रिजालले विगत ३० वर्षमा आर्थिक, सामाजिक, स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधार भए पनि युवाहरू कन्भिन्स हुन नसकेको पनि बताए । उनले युवा पलायनको समस्यालाई चिर्न संविधान संशोधनको माध्यमबाट लोकतन्त्रका बाँकी पक्षमा काम गर्न जरुरी रहेको बताउँदै भने, ‘हामीले ३० वर्षमा असाध्यै ठूलो उपलब्धि हासिल गर्यौं । यसमा जहाँसुकै मज्जाले कुरा गर्न सकिन्छ । आर्थिक, सामाजिक, स्वस्थ्य र शिक्षाका क्षेत्रमा सुधार भएको छ । तर, हरेक दिन २ हजारभन्दा बढी मान्छे प्लेन चढेर नेपाल छोडिरहेका छन् ।’

का‌ंग्रेस नेता रिजालले पछिल्लो समय कृत्रिम बहुमतका आधारमा सरकार बनाउने र ढाल्ने खेल भइरहेको उल्लेख गर्दै संविधानको माध्यमबाट एउटै पार्टीले प्राकृतिक बहुमत ल्याउने गरी व्यवस्था गर्न जरुरी रहेको पनि बताए । उनले संविधानको ९ वर्षको अभ्यासको समीक्षा गर्दै संशोधनको काम गर्नुपर्नेमा जोड दिंदै भने, ‘हामीले नै बनाएको संविधानबाट लोकतन्त्रका बाँकी पक्षमा चाहिँ काम गर्नुपर्छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: