अधिकांश क्यानेडियन आफ्नो देश अमेरिकामा मिसाउन चाहन्छन्: ट्रम्प

DaksuMedia दाक्सु मिडिया
|
२०८१ पुष ४

काठमाडौँ : अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले छिमेकी राष्ट्र क्यानडाका अधिकांश नागरिक आफ्नो देश अमेरिकाकै एक राज्य बनोस् भन्ने चाहने दाबी गरेका छन्। अमेरिकाको राष्ट्रपति चुनावमा निर्वाचित भएलगत्तै क्यानडाबाट आउने सबै सामानमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका ट्रम्पले अहिले क्यानडाबारे अर्काे वक्तव्य जारी गरेका हुन्।

सोसल मिडिया प्लेटफर्म ट्रुथ सोसलमा लेख्दै उनले क्यानाडाका अधिकांश नागरिक आफ्नो देशलाई अमेरिकाको ५१औँ राज्य होस् भन्ने चाहेको दाबी गरेका हुन्।

उनले लेखेका छन्, ‘कसैले यसको जवाफ दिन सक्दैन कि हामी क्यानाडालाई हरेक वर्ष एक अर्ब डलरभन्दा बढी अनुदान किन दिन्छौँ? यसको कुनै अर्थ छैन र? धेरै क्यानाडाली यो (क्यानडा) अमेरिकाको ५१औँ राज्य होस् भन्ने चाहन्छन्। यसबाट उनीहरूलाई कर र सैन्य सुरक्षामा धेरै बचत हुनेछ। मलाई लाग्छ यो एक महान् विचार हो।’

यसअघि ट्रम्पले आप्रवासी र अवैध लागुऔषध रोक्न क्यानडा र मेक्सिकोमा कर लगाउनु आवश्यक भएको बताएका थिए। उनले आगामी जनवरी २० मा राष्ट्रपतिको पदभार ग्रहण गर्नेबित्तिकै क्यानडा, मेक्सिको र चीनका सामानमा कर लगाउने ‘कार्यकारी आदेश’मा हस्ताक्षर गर्ने बताएका छन्। क्यानडा र अमेरिकासँग विश्वको सबैभन्दा लामो सिमाना छ र दुई देशबीचको व्यापार सम्बन्ध एक ट्रिलियन डलरभन्दा बढी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *