×

दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झना दिवसः सधैँ झस्काइरहन्छ आफन्तलाई

मंसिर २, २०८१ | दाक्सु मिडिया

चितवन : विसं २०६५ मङ्सिर २६ गते साँझ भरतपुरबाट बुटवल वनभोज खान गएर फर्किएको एक निजी विद्यालयको बस नवलपरासीको गैँडाकोटमा दुर्घटना हुँदा २३ जनाले एकै ठाउँमा ज्यान गुमाए । सो घटनामा छोरी गुमाएका भरतपुर महानगरपालिका–९ की मधु पाठक अहिले पनि दुर्घटना सुन्नासाथ छोरी सम्झन्छन् ।

स्थानीय विद्यालयमा पढ्दै गरेकी १५ वर्षीया आकृति पाठकसहित शिक्षक र विद्यार्थी गरी २३ जनाले घटनामा ज्यान गुमाएका थिए । पाठकको भनाइमा अहिले पनि सडकमा यात्रा गर्दा सो घटनाले झस्काइरहन्छ । उनले भने, “कतै दुर्घटना सुन्नेबित्तिकै छोरी सम्झेर मन खिन्न हुन्छ ।”

घटनापछि छोरीका नाममा ट्रस्ट बनाएका पाठक दुर्घटना न्यूनीकरणका लागि सबै लाग्नुपर्ने बताउँछन् । दिनानुदिन बढ्दै गएको दुर्घटनालाई न्यूनीकरण गर्न बालबालिकादेखि नै शिक्षा दिनुपर्ने उनको सुझाव छ ।

विश्व स्वास्थ्य सङ्गठनले सन् १९९३ देखि नोभेम्बरको तेस्रो आइतबारलाई सवारी दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झना दिवसका रूपमा प्रत्येक वर्ष विश्वभरि मनाउन थालेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गायत्रीराज शर्मा यो दिवसमा सर्वसाधारण सबैलाई दुर्घटना न्यूनीकरणसम्बन्धी सन्देश प्रवाह गर्नुपर्ने बताउँछन् ।

उनको भनाइमा अहिले मृत्युको आठौँ कारण दुर्घटना हुने गरेको छ । अध्ययनहरूका अनुसार सन् २०३० सम्ममा दुर्घटना मृत्युको सातौँ कारण बन्न सक्छ । यसको मतलब दुर्घटना बढ्दो रूपमा रहेको छ । शर्माका अनुसार मानवीय, सडक, यान्त्रिक र प्राकृतिक कारण दुर्घटना हुने गर्दछन् । कारणभित्र धेरै कारण रहेको भन्दै उहाँ प्रमुख चार कारणमा केन्द्रित रहेर दुर्घटना न्यूनीकरण गर्न सकिने बताउँछन् ।

उनले भने, “प्रहरी, प्रशासनले मात्र दुर्घटना न्यूनीकरण गर्न सक्दैन, सबै पक्ष लाग्नुपर्छ, न्यूनीकरण हुन्छ ।” चितवनमा मात्र वार्षिक एक सय जनाभन्दा बढी दुर्घटनाका कारण ज्यान गुमाउने गर्दछन् । यो सङ्ख्या गत आर्थिक वर्षमा एक १५ थियो ।

चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालका निर्देशक प्रा डा दयाराम लम्सालले दुर्घटनापछिको उद्धार र उपचार राम्रो भएमा धेरैलाई बचाउन सकिने बताए । अस्पतालको आकस्मिक कक्ष हेर्दै आएका उनले दुर्घटनाको उपचार गर्ने अस्पतालमा राम्रो ट्रमा केयर हुनुपर्ने भन्दै आकस्मिक कक्षमा काम गर्ने चिकित्सक, नर्सलाई पनि समयसमयमा तालिम दिइरहनुपर्ने बताए ।

दुर्घटनाको उपचार गर्न ‘टर्सरी’ अस्पताल चाहिन्छ, दक्ष चिकित्सक हुनुपर्छ र अस्पतालको आकस्मिक कक्ष पनि सधैँ तयारी अवस्थामा रहनुपर्ने तथा घाइतेलाई तीन वर्गमा विभाजन गरेर उपचार गर्नुपर्ने उनले बताए ।

निजी र सार्वजनिक दुवै सवारीसाधनमध्ये सार्वजनिक सवारीसाधनमा बढी ध्यान दिनुपर्ने प्रा डा लम्सालको सुझाव छ । सबै पक्षले ध्यान दिनसकेमा आधुनिक समाजमा दुर्घटना रोक्न सकिने उनले बताए । उनले भने, “सडकको अवस्था, यात्रुको सजगता, सार्वजनिक यातायातको सुरक्षाजस्ता विषयमा ध्यान दिनुपर्छ ।”

चालकहरूको पेसागत मर्यादामा ध्यान दिनुपर्ने भन्दै मुख्य रूपमा मादक पदार्थ र लागुपदार्थ सेवन गरेर सवारीसाधन चलाउन नहुने उनले बताए । उनले भने, “चाडपर्व, मेला महोत्सवको समयमा पनि बढी दुर्घटना हुने गरेका छन् ।”

दुर्घटनापछि तत्काल उपयुक्त अस्पताल नपु¥याउँदा धेरैले ज्यान गुमाउने गर्छन् । नेपालमा सुविधासम्पन्न एम्बुलेन्स र दक्ष चालक नहुँदा घाइतेलाई बचाउन गाह्रो हुने गरेको छ । देशभर एम्बुलेन्सको सङ्ख्या छ हजार हाराहारी छ । तीमध्ये निकै कम मात्र सुविधासम्पन्न एम्बुलेन्स छन् ।

संयुक्त एम्बुलेन्स चालक सङ्घका केन्द्रीय अध्यक्ष नवराज लामिछानेले सुविधासम्पन्न एम्बुलेन्स र तालिमप्राप्त चालक नहुँदा समस्या हुने गरेको बताए । उनले भने, “चालकको तालिमले मात्रै पुग्दैन, स्वास्थ्यसम्बन्धी पनि तालिम चाहिन्छ ।” चालकलाई फस्टएड तालिम र चिकित्सक, नर्ससहितको सुविधासम्पन्न एम्बुलेन्स चलाउन सकेमा दुर्घटनाका धेरै घाइतेलाई बचाउन सकिने उनी बताउँछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: