×

केएमसीका इन्टर्न डाक्टर आज पनि आन्दोलनमा

कार्तिक ७, २०८१ | दाक्सु मिडिया

काठमाडौं : काठमाडौं मेडिकल कलेज (केएमसी) का इन्टर्न चिकित्सकले आज पनि आन्दोलन जारी राखेका छन् ।

बढी शुल्क फिर्ताको माग राख्दै १ कात्तिकदेखि आन्दोलनमा उत्रिएका चिकित्सकले बुधबार पनि अस्पतालको मुख्य गेट बाहिर भेला भएर प्रदर्शन गरेका हुन् । उनीहरुको आन्दोलनका कारण अस्पतालको बहिरंग सेवा प्रभावित हुँदै आएको छ । अतिरिक्त शुल्क लिएको विषयमा अस्पताल प्रशासनसँग शुल्क समायोजन गरिदिन पटक-पटक आग्रह गर्दा पनि कुनै प्रक्रिया नआएपछि आन्दोलनमा उत्रिएको आन्दोलनरत चिकित्सक हृदयराज संग्रौलाले बताए ।

चिकित्सा शिक्षा आयोगले ट्युसन र होस्टल फिबाहेक अतिरिक्त शुल्क लिन नपाउने भनेर २०७६ मंसिर ११ गते नै भने पनि केएमसीले त्यसलाई कार्यान्वयन नगरेकाले विरोध गर्नुपरेको उनले बताए ।

काठमाडौं विश्वविद्यालय अन्तर्गत २०७५/७६ मा एमबीबीएस अध्ययन गरेका इन्टर्न चिकित्सकसँग कलेजले प्रतिविद्यार्थी इन्टर्नसिप शुल्क २ लाख, इन्टर्नल परीक्षा शुल्क १ लाख ८० हजार, केयू रजिष्ट्रेसन शुल्क १ लाख ५ हजार, कम्युनिटी भिजिट शुल्क ९० हजार र एनएमसी रजिष्ट्रेसन शुल्क ५ हजार गरी कुल ४ लाख ९० हजार बढी शुल्क लिएको विद्यार्थीले जनाएका छन् ।

आन्दोलन गरिरहेका ५० जना नेपाली र ४० जना विदेशी विद्यार्थीबाट कलेजले कुल ३ करोड ७१ लाख ७८ हजार ४ सय रुपैयाँ अतिरिक्त शुल्क असुलेको दाबी छ । विद्यार्थीहरुले बढी लिएको सबै शुल्क फिर्ता नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयोFacebookTwitterEmail

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: