
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी ९एमाले० संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अविलम्ब राजीनामा दिन माग गर्ने निर्णय गरेको छ ।
बैठकको निर्णयबारे जानकारी दिँदै संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले अल्पमतमा परेको काम चलाउ सरकारले अविलम्ब राजीनामा दिनुपर्ने निर्णय संसदीय दलले गरेको जानकारी दिए ।
“सरकार अल्पमतमा परेको छ, काम चलाउन सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो समय राजीनामा नदिइ पदमा बस्नु अनुचित हो”, प्रमुख सचेतक बर्तौलाले भने , “काम चलाउ सरकारलाई कुनै पनि महत्वपूर्ण निर्णय नगर्न बैठकले आग्रह गरेको छ, नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न आग्रह गरिएको छ ।” जनमत गुमाइसकेको सरकारले मुलुकलाई दुरगामी असरपर्ने निर्णय गर्नु संविधानविपरीत हुने भन्दै बैठकले सरकारलाई सचेत गराएको उनिले जानकारी दिए ।
यही असार १७ गते नेपाली कांग्रेस र एमालेबीच राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमति भएको थियो । उक्त सहमतिपछि एमालेले यही असार २० गते वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सबै मन्त्री सरकारबाट बाहिरिनुभएको थियो ।
“हाम्रो दलको बैठकले आजै तत्काल राजीनामा दिन माग गरेको छ”, प्रमुख सेचतक बर्तौलाले भने , “प्रधानमन्त्रीले यही असार २८ प्रतिनिधिसभामा विश्वासको प्रस्ताव प्रस्तुतिका लागि सङ्घीय संसद्लाई पत्र पठाउनुभएको छ, यदि उहाँले राजीनामा नदिएमा एमालेले प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।”
फेसबुकबाट तपाईको प्रतिक्रिया