काठमाण्डौँ । शनिबारको वर्षाका कारण विभिन्न स्थानमा डाइभर्सन बगाएपछि बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध छ । शनिबार दिउँसो चार बजेबाट बन्द भएको राजमार्ग खुलाउन समय लाग्ने प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले सम्भवतस् आइतबार साँझसम्म पनि सडक खुलाउन समस्या हुने अनुमान गरे ।
प्रहरीका अनुसार रोशी खोलाको बाढीले चौकीडाँडा, घुमाउने, चारसय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, डालाबेशी, ठुलोढुंगा तथा माम्तीमा डाइभर्सन बगाएको छ । यसैगरी नेपालथोक र सिन्धुलीतर्फ आँपघारी क्षेत्रमा पनि डाइभर्सन बगाएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहका अनुसार बीपी राजमार्गको विभिन्न स्थानमा डाइभर्सन बगाएका कारण काभ्रेको मङ्गलटार, भकुण्डे, काभ्रेभञ्ज्याङ र धुलिखेल तथा सिन्धुलीको नेपालथोक र खुर्कोटमा सयौं सवारी साधन ‘होल्ड’ गरिएको थियो ।
आइतबार बिहानबाट भकुण्डे, काभ्रेभञ्ज्याङ र धुलिखेलमा रोकिएका सवारी साधनहरुलाई सुरक्षित स्थानमा पठाइसकिएको छ । मंगलटार क्षेत्रमा रोकिएका यात्रीहरूलाई पनि वैकल्पिक मार्ग प्रयोग गरेर पठाउन थालिएको छ ।
प्रहरीका अनुसार मंगलटारसम्म यात्रु बोकेर आएका सवारी साधनहरुलाई त्यहीँ रोकेर यात्रीहरूलाई रोशीखोला पारीसम्म पैदल हिँडाएर त्यहाँबाट अर्को गाडीको व्यवस्था गरी तेमालको कालधार–नारायणस्थान–भकुण्डे हुँदै धुलिखेलतर्फ पठाइएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार मौसममा सुधार आई सडक सुरक्षित भएको सुनिश्चित भएपछि मात्र पुन: सवारी साधन सञ्चालन गरिनेछ ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्