काठमाडौँ । यातायात व्यवसायीहरूले सार्वजनिक यातायातको भाडा तत्काल समायोजन गर्न सरकारलाई आग्रह गरेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेअनुसार भाडा समायोजन गर्न माग गरेको हो ।
महासंघका महासचिव डेकनाथ गौतमद्वारा जारी विज्ञप्तिमा हवाई इन्धनको मूल्य बढ्नेबित्तिकै हवाई भाडा समायोजन भइसक्ने तर सार्वजनिक यातायातको हकमा सरकार मौन रहनु विभेदकारी भएको उल्लेख छ।
यातायात व्यवस्था विभागले चैत ५ गते नै यात्रुवाहक तर्फ ११.३३५, पहाडी मालवाहक तर्फ १४.२९५ र तराई मालवाहक तर्फ ८.८१५ भाडा बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सिफारिस गरे पनि हालसम्म कार्यान्वयन नभएको विज्ञप्तिमा उल्लेख छ ।
व्यवसायीहरूले हालको मूल्यवृद्धिका कारण दैनिक लाखौँ रुपैयाँ घाटामा सेवा सञ्चालन गर्नुपरेको बताएका छन् । महासंघले संघीय तथा सातै प्रदेश सरकारलाई वैज्ञानिक विधिअनुसार यथाशीघ्र भाडा समायोजन गर्न माग गरेको छ । माग पूरा नभए व्यवसायीहरूले आफैँ भाडा तोकेर असुल गर्ने चेतावनी समेत दिएका छन् ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्