असोज । मुग्लिङ-नारायणगढ सडकखण्डको तुइनखोला नजिक खसेको पहिरोले यात्रुहरू, सवारीसाधन र यातायात श्रमिकहरू ३६ घण्टादेखि अलपत्र परेका छन्। न खान पाउने अवस्था, न सुत्ने ठाउँ — हजारौं नागरिक खुला सडकमा रात बिताउन बाध्य भएका छन्।
सडक असोज ३ गते साँझ ६:३० बजेदेखि पूर्ण रूपमा अवरुद्ध छ। आज बिहान ८ बजेसम्म पनि आवागमन सुचारु हुन सकेको छैन। तुइन खोलादेखि भरतपुरसम्म करिब ३५ किलोमिटर र मुग्लिङदेखि नागढुङ्गासम्म करिब १०० किलोमिटर क्षेत्रमा सवारीसाधनहरू जाममा फसेका छन्।
यात्रुहरू बीचमा महिलाहरू, बालबालिका, बिरामी र वृद्धहरू समेत छन्, जसले पानी र खानाको अभावमा थप कठिनाइ झेलिरहेका छन्। अत्यावश्यक सेवा लिनेहरू समेत समयमै गन्तव्य पुग्न नसक्दा समस्या झन् चर्किएको छ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आज बिहान ७ बजेदेखि पहिरो पन्छाउने काम सुरु गरिएको हो। तर, निरन्तर पहिरो खसिरहेकाले काममा कठिनाइ आइरहेको जनाइएको छ। अवस्था नियाल्दा अझै केही समय आवागमन सुचारु हुन नसक्ने अनुमान गरिएको छ।
स्थानीय बासिन्दा र यात्रुहरू सरकारको उदासीनता प्रति आक्रोशित छन्। “३६ घण्टा भयो, न त कसैले अवस्था बुझ्न आयो, न राहत ल्यायो,” एक यात्रीले गुनासो गरे।
यस्तो अवस्थामा प्रभावकारी उद्धार र समन्वयको अभावले पूर्व-पश्चिम यातायात व्यवस्था ठप्प भएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्