रुकुम पूर्वका डीएसपी उमाशंकर प्रसाद यादवमाथि छानबिन सुरु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र १

काठमाडौं । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका डीएसपी उमाशंकर प्रसाद यादवमाथि छानबिन सुरु गरिएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालयले उनीमाथि लागेको आरोपबारे अनुसन्धान गर्न समिति गठन गरेको हो ।

छानबिनको क्रममा डीएसपी यादवलाई जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वको जिम्मेवारीबाट हटाएर लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा हाजिर गराइएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका डीआईजी भूपेन्द्र खत्रीका अनुसार एसपी पुष्प मल्लको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ ।

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा भर्ना गरिएका तीन जना निर्वाचन प्रहरीबारे विवाद भएपछि यादवमाथि अनुसन्धान सुरु गरिएको हो। ती प्रहरीलाई भर्ना गरे पनि तालिम नदिएको र ड्युटीमा समेत नखटाएको भन्दै विवाद बाहिरिएको थियो ।

प्राप्त जानकारी अनुसार डीएसपी यादवले बाराबाट तीन जनालाई रुकुम पूर्व बोलाएर निर्वाचन प्रहरीमा भर्ना गराएका थिए । उनीहरूलाई तालिम नगराई ड्युटीमा समेत परिचालन नगरी सेवा–सुविधा उपलब्ध गराएको आरोप लागेको छ। ती व्यक्तिहरू यादवका आफन्त रहेको पनि बताइएको छ ।

यस घटनापछि निर्वाचन प्रहरीहरूले विरोध जनाएपछि विषय सार्वजनिक भएको हो । अहिले रुकुम पूर्वमा डीएसपी केशव ज्ञवालीलाई जिम्मेवारी दिइएको छ। ज्ञवाली यसअघि लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा कार्यरत थिए ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयले घटनाबारे विस्तृत छानबिन भइरहेको र छानबिन प्रतिवेदनका आधारमा आवश्यक कारबाही गरिने जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *