तनहुँको मार्किचोक सबस्टेसनमा प्राविधिक समस्या

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ ७

काठमाडौँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित मार्किचोक २२०/१३२/३३ केभी सबस्टेसनमा रहेको १३२/३३ केभी क्षमताको १२ एमभिए पावर ट्रान्सफर्मरमा प्राविधिक समस्या देखिएपछि तीन जिल्लामा विद्युत् आपूर्ति प्रभावित भएको छ।

नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रका अनुसार ट्रान्सफर्मरको अर्थिङ प्रणालीमा समस्या उत्पन्न भई अत्यधिक करेन्ट प्रवाह भएपछि हिजो साँझ ५ः३२ बजेदेखि लाइन अवरुद्ध भएको हो ।

उक्त सबस्टेसनबाट तनहुँको आँबुखैरेनी, गोरखा जिल्ला तथा मुग्लिन हुँदै चितवनका केही क्षेत्रमा विद्युत् आपूर्ति हुँदै आएको छ। विद्युत् अवरुद्ध भएपछि ती क्षेत्रका उपभोक्ता प्रभावित भएका छन् ।

समस्या समाधानका लागि पोखरा ग्रिड महाशाखाको प्राविधिक टोली खटिएको थियो । टोलीले राति १२ः४५ बजे लाइन पुनः सञ्चालनमा ल्याए पनि पुनः अर्थिङ प्रणालीमै समस्या देखिएपछि आज बिहान ६ः४७ बजे ट्रान्सफर्मर फेरि बन्द गरिएको तनहुँ वितरण केन्द्रका सूचना अधिकारी वेनी नेपालीले जानकारी दिए ।

उनका अनुसार हाल वैकल्पिक लाइनमार्फत विद्युत् आपूर्ति सञ्चालन गर्ने प्रयास भइरहेको छ । साथै, ट्रान्सफर्मर मर्मत सम्भव भए तत्काल मर्मत गरिने र आवश्यक परे नयाँ ट्रान्सफर्मर प्रतिस्थापन गर्ने तयारीसमेत गरिएको छ ।

हाल पोखरा ग्रिडको प्राविधिक टोली मार्किचोक सबस्टेसनमै रहेर मर्मत तथा व्यवस्थापनको कार्य गरिरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *