एमाले विधान अधिवेशनमा प्रस्तुत गरिएका सबै प्रतिवेदन सर्वसम्मतिले पारित

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २२

ललितपुर। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को भावी नेतृत्वमा अध्यक्ष केपी शर्मा ओलीको विकल्प नभएको प्रतिवेदन पारित भएको छ।

ललितपुरमा जारी पार्टीको दोस्रो विधान महाधिवेशनमा विभिन्न समूहको छलफलका क्रममा नेताहरुले पार्टी नेतृत्वमा अध्यक्ष ओलीको विकल्प नभएको बताएको एमालेका प्रचार तथा प्रकाशन विभागका प्रमुख तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले बताए।

महाधिवेशनको तेस्रो दिन समूहगत छलफलका क्रममा नेताहरुबाट व्यक्त भएका भनाइका सम्बन्धमा केही सञ्चारमाध्यमले गलत सूचना प्रवाह गरेको उनको भनाइ थियो। उनले विधान संशोधनको मुख्य विषय उमेर हद र दुई कार्यकालको विषयमा केही सञ्चारमाध्यमले गलत सूचना प्रवाह गरेको पनि दाबी गरे।

“सात भूगोल र तीन गैर भूगोल समूहका नेताहरुले छलफलमा उठेका विषयलाई समावेश गरी बन्दसत्रमा प्रतिवेदन पेस गरिसक्नुभयो। दशवटै समूह नेताहरुले राष्ट्रपति, उपराष्ट्रपति मात्रै होइन संवैधानिक नियुक्ति पाइसकेका व्यक्ति पार्टीमा फर्कन नपाउने व्यवस्था विधानमै गर्न सुझाव दिनुभएको छ”, उनले दाबी गरे।

सुदूपश्चिम प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशी, कर्णाली प्रदेशका अध्यक्ष तथा समूहगतका नेता गुलाबजंग शाह, लुम्बिनी प्रदेश अध्यक्ष तथा समूहगतका नेता राधाकृष्ण कँडेल, गण्डकी प्रदेशका उपाध्यक्ष तथा समूहगत नेता मीनप्रसाद गुरुङ, बागमती प्रदेशका अध्यक्ष तथा समूहगत नेता कैलाश ढुंगेल, मधेस प्रदेशका अध्यक्ष तथा समूहगत नेता चन्द्रेश्वर मण्डल, कोशी प्रदेशका अध्यक्ष तथा समूहगत नेता घनश्याम खतिवडा, गैर भूगोलका शिव अधिकारी, चुडामणि जंगली र भक्त गुरूङले आ(आफ्नो प्रतिवेदन पेस गरेका थिए।

प्रचार विभाग प्रमुख गौतमका अनुसार दोस्रो विधान महाधिवेशनमा प्रस्तुत सबै प्रतिवेदनहरु सर्वसम्मतिले पारित भएका छन्।

विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव, महासचिव शंकर पोखरेलले सांगठानिक प्रतिवेदन, आयोगको तर्फबाट प्रस्तुत प्रतिवेदनहरू हलबाट सर्वसम्मतिले पास भएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

1 Comments

  1. Edward4450

    September 8, 2025

Leave a Reply

Your email address will not be published. Required fields are marked *