काठमाडौँ । नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गीता गुरुङ ले ऐतिहासिक गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै गणतन्त्रलाई केवल राजनीतिक प्रणालीको परिवर्तन नभई नागरिक सर्वोच्चताको युगान्तकारी उपलब्धिका रूपमा व्याख्या गरेकी छन्।
फेसबुकमार्फत सार्वजनिक गरिएको सन्देशमा उनले गणतन्त्रलाई रैती मानसिकताबाट नागरिक अधिकार र सम्प्रभुतातर्फको महत्त्वपूर्ण रूपान्तरणको रूपमा उल्लेख गरेकी छन्। उनका अनुसार गणतन्त्रको वास्तविक सार्थकता राज्यका सेवा र संरचना दुर्गम तथा सीमान्तकृत समुदायसम्म समान रूपमा पुगेर नागरिकले आफ्नो अधिकार र अस्तित्व प्रत्याभूत गर्न सक्नुपर्ने अवस्थासँग जोडिएको छ।
सांसद गुरुङले अझै पनि राज्यको उपस्थिति पूर्ण रूपमा महसुस गर्न नसकेका विपन्न, उपेक्षित तथा दुर्गम क्षेत्रका नागरिकप्रति विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याउँदै उनीहरूको आवाज नीति निर्माण तहमा प्रभावकारी रूपमा स्थापित हुनुपर्नेमा जोड दिएकी छन्।
सन्देशमा उनले सहिदहरूको सर्वोच्च बलिदानलाई स्मरण गर्दै संसद्भित्र र बाहिर दुवै स्थानमा सुशासन, न्याय र समानताको पक्षमा निरन्तर रूपमा आवाज उठाइरहने आफ्नो प्रतिबद्धता दोहोर्याएकी छन्।
उनले गणतन्त्रले केवल भूगोललाई मात्र होइन, सम्पूर्ण नेपाली समाजबीच न्यायपूर्ण र भावनात्मक एकता मजबुत बनाउनुपर्ने उल्लेख गर्दै सबैलाई हार्दिक शुभकामना व्यक्त गरेकी छन्।




दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्