काठमाडौँ । फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरि महोत्तरीमा डिजे र मदिरा माथि प्रतिबन्ध लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीले छुट्टाछुट्टै सूचना प्रकाशित गरि निर्वाचनलाई लक्षित गरि डिजे र मदिरामा प्रतिन्बन्ध लगाएको जानकारी सार्वजनिक गरेको छ ।
चुनावी प्रचारप्रसारको क्रममा महोत्तरीको ग्रामीण तथा शहरी क्षेत्रमा चर्को स्वरमा डीजे बाजा बजाएर प्रचार प्रसार हुने गरेको गुनासो आउन थालेपछि सो कार्यमा प्रतिबन्ध लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी संजय पोखरेलले बताए ।
“ध्वनि प्रदूषण नियन्त्रण गर्न र शान्ति सुरक्षा कायम गर्न डीजे प्रयोगमा रोक लगाइएको हो । ‘‘सहायक प्रजिअ पोखरलेले भन्नु भयो “जिल्ला भरी सार्वजनिक स्थान, जुलुस, र्याली तथा आम सभामा डीजे साउन्ड सिस्टम, ठूला लाउडस्पीकर तथा ध्वनि प्रदूषण गर्ने उपकरण प्रयोगमा प्रतिबन्ध लगाएको छ ।”
जिल्ला प्रशासन कार्यालय महोत्तरीका अनुसार फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी प्रचारप्रसार तीव्र बनेसँगै ध्वनि प्रदूषण बढेको गुनासो आएपछि डिजेमा प्रतिबन्ध गर्ने निर्णय गरिएको हो ।
अत्यधिक ध्वनिका कारण विद्यार्थीको अध्ययनमा असर पर्ने, ज्येष्ठ नागरिक तथा बिरामीको स्वास्थ्यमा समस्या देखिने तथा सामाजिक सद्भाव र शान्ति सुरक्षामा समेत प्रतिकूल प्रभाव पर्ने अवस्थालाई मध्यनजर गर्दै प्रतिबन्ध लागू गरिएको सहायक प्रजिअ पोखरेलले स्पष्ट पारे ।
जिल्ला सुरक्षा समितिको सिफारिसको आधारमा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार फागुन १० गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि डिजे माथि प्रतिबन्ध गरिएको हो ।
यस निर्णयको वर्खिलाप गई डीजे साउन्ड सिस्टम प्रयोग गरेको पाइएमा सम्बन्धित उपकरण जफत गरिने र प्रचलित कानूनअनुसार कडा कारबाही गरिने चेतावनी समेत प्रशासनले दिएको छ ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्