स्याङ्जा पुग्यो ५१ प्रकारका निर्वाचन सामाग्री

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १०

काठमाण्डौँ । यही फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण सामाग्री स्याङ्जा पुगेको छ ।

निर्वाचन आयोगले जिल्लाका दुवै निर्वाचन क्षेत्रमा मतदान सञ्चालन गर्न आवश्यक मतपत्र, मतपेटिका, छाप, स्ट्याम्प प्याड, मतदाता नामावलीलगायत ५१ प्रकारका सामाग्री पठाएको हो ।

सामग्री प्राप्त भएसँगै वितरण र व्यवस्थापनको कामलाई तीव्रता दिइएको जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख जिल्ला निर्वाचन अधिकृत श्रीराम थापाले जानकारी दिए ।

जिल्लाभर १९९ मतदान स्थल र ३२२ मतदान केन्द्र तोकिएका छन् ।

तीमध्ये ५६ वटा केन्द्रलाई अति संवेदनशील, ७१ वटालाई संवेदनशील र ७२ वटालाई सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ । अघिल्लो निर्वाचनको तुलनामा यस वर्ष दुई वटा मतदान केन्द्र थपिएको प्रमुख थापाले बताए ।

साथै, जिल्ला कारागार स्याङ्जामा रहेका कैदीबन्दीका लागि एक अस्थायी मतदान स्थलको पनि व्यवस्था मिलाइएको छ ।

विगतका गतिविधि, भौगोलिक अवस्था, सडक पहुँच र पूर्वाधारको स्थितिलाई आधार मानेर सुरक्षा संवेदनशीलता निर्धारण गरिएको जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जानकारी दिए ।

मतदान स्थलहरूमा आवश्यक मर्मत, खानेपानी व्यवस्थापन र तारबारको काम सम्बन्धित वडाध्यक्षमार्फत भइरहेको प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी अर्यालले निष्पक्ष र व्यवस्थित रूपमा निर्वाचन सम्पन्न गराउन सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको उल्लेख गर्दै शान्ति सुरक्षामा कुनै कमजोरी हुन नदिइने बताएका छन् ।

यसैगरी, अति संवेदनशील र संवेदनशील केन्द्रहरूमा अतिरिक्त सुरक्षा बल परिचालन गरिने जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *