काठमाण्डौँ । सङ्खुवासभामा आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन सामग्री तथा आवश्यक मतपत्र पुगेको छ । प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फको मतपत्र पुगेको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय, सङ्खुवासभाका अनुसार प्रत्यक्ष र समानुपातिक तर्फ मतपत्र शनिबार दिउँसो पुगेको हो । प्रत्यक्ष र समानुपातिकतर्फको मतपत्र सदरमुकाम खाँदबारी स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ ।
जिल्लामा प्रत्यक्षतर्फ एक लाख २९ हजार र समानुपातिकतर्फ एक लाख ३२ हजार मतपत्र आएको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले बताए ।
नेपाली सेनाको सहयोगमा ल्याइएको मतपत्र मिलाएर राख्ने काम भइसकेको मुख्य निर्वाचन अधिकृत कोइरालाले बताए । जिल्ला आइपुगेको मतपत्र रुजु गर्न समेत खटाइएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले पनि मतपत्र रुजु गर्ने काम सुरु गरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म ७१ हजार मतपत्र रुजु भइसकेको छ ।
जिल्लामा एक सय ९ मतदान स्थल र एक सय ६४ मतदान केन्द्र रहेका छन् । एकीकृत जिल्ला सुरक्षा २०८२ बमोजिम निर्वाचनका लागि दुई हजार बढी सुरक्षाकर्मी परिचालन गरिने जिल्ला सुरक्षा समितिले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको एक मात्र क्षेत्र रहेको यस जिल्लामा एक लाख १९ हजार ६ सय ३० मतदाता रहेका छन् ।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्