महाशिवरात्रिसँगै २६३औँ सेना दिवस

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ३

काठमाडौं – नेपाली सेनाले आफ्नो स्थापनाको २६३औँ वार्षिकोत्सव आज देशभर विभिन्न कार्यक्रमका साथ मनाउँदै छ। महाशिवरात्रिको अवसर पारेर मनाइने सेना दिवसका मुख्य कार्यक्रम राजधानीको सैनिक मञ्च, टुँडिखेलमा आयोजना हुँदैछन्। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ।

टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा शिवरात्रि बढाइँ, सैनिक परेड, तोप बढाइँ, कवाज प्रदर्शन तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ। जंगी अड्डाअन्तर्गत पृतना, बाहिनी, गण, गुल्म, कूटनीतिक नियोग तथा विभिन्न शान्ति मिसनमा खटिएका इकाइहरूले समेत आ–आफ्नो स्थानबाट दिवस मनाउँदै छन्।

इतिहासदेखि वर्तमानसम्म

वि.सं. १८१९ सालबाट संगठित स्वरूपमा अघि बढेको नेपाली सेनाले देशको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। राष्ट्रिय एकता सुदृढ राख्नु सेनाको संवैधानिक दायित्व हो। अनुशासन, ‘चेन अफ कमान्ड’ र राजनीतिक निरपेक्षता सेनाको विशेष पहिचानका रूपमा स्थापित छन्।

अन्तर्राष्ट्रिय क्षेत्रमा सक्रिय उपस्थिति

नेपाली सेना संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना अभियानमा सन् १९५८ देखि सहभागी हुँदै आएको छ। हालसम्म ४४ वटा शान्ति मिसनमा एक लाख ६२ हजारभन्दा बढी नेपाली शान्ति सैनिकले योगदान गरिसकेका छन्। कर्तव्य पालनाक्रममा ७४ सैनिकले ज्यान गुमाएका छन् भने ७७ जना घाइते भएका छन्।

अहिले १० वटा मिसनमा ३९१ महिलासहित ४ हजार ३०२ नेपाली शान्ति सैनिक परिचालित छन्। महिला सहभागिताका हिसाबले नेपाल अग्रणी राष्ट्रमध्ये पर्छ। यसले अन्तर्राष्ट्रिय स्तरमा नेपाली सेनाको व्यावसायिकता र विश्वसनीयता झल्काएको छ।

तालिम र विकासमा योगदान

भक्तपुरको खरिपाटीस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, सैनिक शिक्षालय तथा शिवपुरीस्थित आर्मी कमान्ड एन्ड स्टाफ कलेजमा विभिन्न देशका सैनिक अधिकृतहरूले तालिम लिँदै आएका छन्। यसले नेपाललाई सैन्य तालिमको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गरेको छ।

त्यसैगरी विपद् व्यवस्थापन, पूर्वाधार निर्माण तथा ऐतिहासिक सम्पदाको संरक्षणमा पनि सेनाले सक्रिय भूमिका खेल्दै आएको छ। काठमाडौँ–तराई मधेस द्रुतमार्गजस्ता राष्ट्रिय गौरवका आयोजनाहरू सेनाकै व्यवस्थापनमा निर्माणाधीन छन्।

सुरक्षा व्यवस्थामा तयारी

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन नेपाली सेनाको नेतृत्वमा एकीकृत सुरक्षा योजना कार्यान्वयनमा रहेको जनाइएको छ।

सेना दिवसको अवसरले नेपाली सेनाको ऐतिहासिक योगदान, व्यावसायिक दक्षता र राष्ट्रिय प्रतिबद्धतालाई पुनः स्मरण गराएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *