काभा लिगमा पुलिस क्लबको दमदार सुरुवात

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २३

काठमाडौं – नेपाल पुलिस क्लबले काभा लिग महिला क्लब च्याम्पियनसिपमा जितसहित आफ्नो अभियान थालेको छ। माल्दिभ्समा हिजोबाट सुरु भएको प्रतियोगिताको आजको खेलमा पुलिसले उज्वेकिस्तानको हुमो भिसीलाई ३–१ सेटले पराजित गर्दै उत्कृष्ट सुरुवात गरेको हो।

साविक च्याम्पियनसमेत रहेको पुलिस क्लबले कडा प्रतिस्पर्धात्मक खेलमा ३०–२८, २१–२५, २५–२१ र २५–२३ को सेट स्कोरमा जित निकालेको थियो। काभा क्लब च्याम्पियनसिपको पहिलो संस्करण जितेको पुलिस यसपटक समूह ‘बी’ मा समावेश छ।

समूह चरण अन्तर्गत पुलिसले शुक्रबार इरानको फुलाड एमएससँग प्रतिस्पर्धा गर्नेछ भने समूह चरणको अन्तिम खेलमा आयोजक माल्दिभ्सको हुर्रा सिसीको सामना गर्नेछ।

समूह ‘ए’ मा माल्दिभ्सको हुम्को क्लब, श्रीलंकाको हिर्दारामानी एससी र काजकिस्तानको तुरान एफसी रहेका छन्। राउन्ड रोबिन प्रणालीपछि प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।

उपाधि रक्षा गर्ने लक्ष्यसहित पुलिस क्लबले टोलीलाई थप बलियो बनाएको छ। यसक्रममा टिप टप न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबकी सलिना श्रेष्ठ र सुमित्रा रेग्मी तथा एभरेष्ट क्लबकी मिना सुनारलाई अनुबन्ध गरिएको छ।

गत संस्करणमा पुलिसले एपिएफकी सरस्वती चौधरी र निरुता ठगुन्नालाई टोलीमा समेटेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *