काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज आफ्नो निर्वाचन क्षेत्र चितवन प्रस्थान गर्ने भएका छन् । खुट्टामा लागेको चोट अझै पूर्ण रूपमा निको नभए पनि उनी चितवन जान लागेका हुन्।
लामिछानेले सामाजिक सञ्जालमार्फत आज बिहान चितवनतर्फ जाने जानकारी दिएका छन् । चितवन क्षेत्र नम्बर–२ का उम्मेदवारसमेत रहेका उनी सोमबार नै त्यहाँ जान चाहेका थिए । तर चिकित्सकको सल्लाहका कारण यात्रा स्थगित गर्नुपरेको उनले उल्लेख गरेका छन्।
पार्टी स्रोतका अनुसार लामिछानेलाई खुट्टाको घाउले अझै समस्या दिइरहेकाले उनी सहज रूपमा हिँडडुल गर्न सक्ने अवस्थामा छैनन् । त्यसैले चितवन पुगेपछि पनि तत्काल घरदैलो अभियान सञ्चालन गर्ने अवस्था नरहेको जनाइएको छ । उनी हाल बसेकै स्थानमा सीमित राजनीतिक भेटघाटमा मात्र सहभागी हुनेछन्।
यसैबीच, फागुन महिनादेखि भने सभापति लामिछाने र रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह संयुक्त रूपमा देशव्यापी चुनावी अभियानमा निस्किने तयारी भएको छ । पार्टी नेतृ प्रतिभा रावलका अनुसार फागुनको पहिलो साताबाट सातै प्रदेश समेट्ने गरी अभियानको कार्यतालिका बनाइँदैछ।
उनका अनुसार दुवै नेता समय र परिस्थितिले भ्याएसम्म बढीभन्दा बढी मतदातामाझ पुग्ने प्रयासमा रहनेछन् । हाल बालेन्द्र साह पूर्वी नेपालमा छन् । उनी आफ्नो निर्वाचन क्षेत्र झापा–५ केन्द्रित प्रचारका साथै आसपासका जिल्लामा पनि रास्वपाका उम्मेदवारहरूको समर्थनमा सक्रिय छन्।
यसअघि माघ ४ गते लामिछाने र साह जनकपुरमा आयोजित रास्वपाको पहिलो चुनावी सभामा सँगै सहभागी भएका थिए । सोही कार्यक्रममा जाने क्रममा लामिछानेको खुट्टा पर्खालमा ठोक्किएर चोट लागेको थियो । त्यसयता उनी सार्वजनिक कार्यक्रममा देखिएका छैनन्।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्