गगन थापा नेतृत्वका लागि सक्षम र तयार छन् : उपसभापति शर्मा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ १९

झापा। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी सभापति गगनकुमार थापा देशको नेतृत्व सम्हाल्न पूर्ण रूपमा सक्षम र तयार रहेको बताएका छन्।

झापा निर्वाचन क्षेत्र नं. १ मा आयोजित क्षेत्रीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपसभापति शर्माले गगन थापामा मुलुक बनाउने स्पष्ट दृष्टिकोण, अनुभव र लोकतान्त्रिक मूल्य रहेको उल्लेख गरे। यही कारण पार्टीले आगामी प्रधानमन्त्रीका रूपमा थापालाई अघि सार्दै चुनावी अभियान सञ्चालन गरिरहेको उनको भनाइ थियो।

“लोकतान्त्रिक आन्दोलनमा गगन थापाको योगदान, राजनीतिक संस्कार र दूरदृष्टि अत्यन्तै महत्वपूर्ण छ,” शर्माले भने, “त्यसैले नेपाली कांग्रेसले उहाँलाई भावी प्रधानमन्त्रीको प्रस्तावसहित जनतामाझ गएको हो।”

उपसभापति शर्माले हालै सम्पन्न पार्टीको विशेष महाधिवेशनले भागबन्डा र गुटगत राजनीतिलाई अन्त्य गरेको दाबी गरे। विगतमा चर्चामा आउने ६०–४० को समीकरण अब समाप्त भएको भन्दै उनले पार्टी अहिले एकजुट भएर चुनावी प्रतिस्पर्धामा उत्रिएको बताए।

विशेष महाधिवेशनपछि पहिलोपटक आफ्नै गृह निर्वाचन क्षेत्र झापा–१ पुगेका शर्माले सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार केशवराज पाण्डेलाई जिताउन कार्यकर्तालाई आह्वान गरे। उनले पार्टी संगठन मजबुत बनाउँदै चुनावमा केन्द्रित हुन सबैलाई आग्रह गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *