काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल मित्रराष्ट्र जापानको औपचारिक भ्रमणमा प्रस्थान गरेका छन्। नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसरमा जापान सरकारको निमन्त्रणाअनुसार उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान गएका हुन्।
आइतबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा आयोजित विदाइ कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू, सुरक्षा निकायका प्रमुख, नेपाल सरकारका उच्च अधिकारी तथा नेपालका लागि जापानी राजदूतले राष्ट्रपति पौडेललाई बिदाइ गरेका थिए।
राष्ट्रपति पौडेलको भ्रमण टोलीमा उनकी धर्मपत्नी सविता पौडेल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरू तथा राष्ट्रपति कार्यालयका पदाधिकारीहरू सहभागी छन्। भ्रमण सम्पन्न गरी राष्ट्रपति पौडेल माघ २१ गते स्वदेश फर्किने कार्यक्रम तय भएको छ।
भ्रमणका क्रममा राष्ट्रपति पौडेलले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा जापान सरकारले आयोजना गर्ने विशेष स्वागत समारोहमा सहभागिता जनाउनेछन्। माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।
त्यसै दिन राष्ट्रपति पौडेल र जापानकी प्रधानमन्त्री सुशी ताकाइची सानाएबीच द्विपक्षीय भेटवार्ता हुने कार्यतालिका छ। साथै जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले पनि राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गर्नेछन्।
भ्रमण अवधिमा राष्ट्रपति पौडेल जापानी व्यावसायिक समुदायसँगको अन्तरक्रियामा सहभागी हुनेछन् भने जापानस्थित नेपाली राजदूतावासले आयोजना गर्ने सम्मान समारोहमा समेत उपस्थिति जनाउनेछन्।
नेपाल र जापानबीचको सम्बन्ध अठारौँ शताब्दीको अन्त्यतिरबाट सुरु भई सन् १९५६ सेप्टेम्बर १ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। आपसी मित्रता, सहयोग र सद्भावमा आधारित यस सम्बन्ध अन्तर्गत नेपालले सन् १९६५ मा टोकियोमा र जापानले सन् १९६७ मा काठमाडौँमा दूतावास स्थापना गरेका थिए। साथै जापानको ओसाकामा नेपालको मानार्थ वाणिज्य दूतावास पनि सञ्चालनमा रहेको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्