काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका ६ लाख ६३ हजार संगठित सदस्यलाई प्रत्यक्ष पत्र पठाउँदै आगामी निर्वाचनमा एमालेका उम्मेदवारलाई विजयी बनाउन सक्रिय भूमिका खेल्न आग्रह गरेका छन्।
आइतबार साँझ पठाइएको पत्रमार्फत अध्यक्ष ओलीले आसन्न निर्वाचनलाई देशको भविष्यसँग जोड्दै यसले नेपाललाई विनाशतर्फ लैजाने कि समृद्धिको दिशामा अघि बढाउने भन्ने निर्णायक मोड तय गर्ने उल्लेख गरेका छन्। देश निर्माणका लागि एमालेले स्पष्ट बहुमत हासिल गर्नु अनिवार्य रहेको उनको धारणा छ।
पत्रमा ओलीले लेखेका छन्, “देश निर्माणको जिम्मेवारी पूरा गर्न हाम्रो पार्टीलाई बहुमत आवश्यक छ। त्यसका लागि पार्टीका उम्मेदवारहरूको विजय सुनिश्चित गर्न सम्पूर्ण कमरेडहरूको उच्च मनोबल र सक्रिय सहभागिताको अपेक्षा गर्दछु।”
पार्टीको प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार अध्यक्ष ओलीले ठूलो संख्यामा रहेका पार्टी सदस्यहरूलाई निर्वाचन अभियानमा ऊर्जाशील बनाउन व्यक्तिगत पत्राचार गरेका हुन्। “अध्यक्षज्यूको यो पहलले कार्यकर्ताहरूलाई हौसला मिल्नेछ र उनीहरूले नेतृत्वसँग प्रत्यक्ष सम्बन्धको अनुभूति गर्नेछन्,” शाहीले बताए।
उनका अनुसार, विध्वंस र अराजकताको राजनीतिलाई चुनावमार्फत अस्वीकार गर्दै विकास र निर्माणको नेतृत्व एमालेले लिनुपर्छ भन्ने सन्देश पार्टी सदस्यहरूमार्फत आम मतदातासम्म पुर्याउने उद्देश्यले पनि यो पत्र लेखिएको हो।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्