खोटाङमा निर्वाचन प्रहरीका लागि मागभन्दा कम युवाको आवेदन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ९

खोटाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खोटाङमा माग गरिएभन्दा कम युवाले निर्वाचन प्रहरीमा आवेदन दिएका छन् ।

प्रतिनिधिसभामा एउटा मात्र निर्वाचन क्षेत्र रहेको खोटाङका लागि निर्धारण गरिएको एक हजार २८२ जना निर्वाचन प्रहरी कोटामा भर्ना गर्नका लागि आवेदन आह्वान गरिएकामा एक हजार १७३ जना युवाको मात्र दरखास्त परेको हो ।

निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति उपसमिति संयोजक एवं जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईका अनुसार सरकारले निर्वाचन प्रहरी भर्नाका लागि पुस २५ देखि माघ १ गतेसम्म दरखास्त दिने समय तोकेको थियो । तर, आवश्यकताअनुसार जिल्लाका युवाको आवेदन नपरेपछि माघ ३ गतेसम्म दरखास्त दिने म्याद थप गरिएको थियो ।

निर्वाचन प्रहरी भर्नाअन्तर्गत बिहीबार दिक्तेलस्थित माटिकोरे खेलमैदानमा लिखित तथा मौखिक परीक्षा सञ्चालन गरिएको छ । यही माघ १२ गतेभित्र निर्वाचन प्रहरी छनोटको नतिजा सार्वजनिक गर्ने कार्य तालिका रहे पनि त्यसअघि नै नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति उपसमिति संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी राईले जानकारी दिइन् ।

केन्द्रले निर्धारण गरेको कोटाअनुसार खोटाङमा आवश्यक १०९ जना अपुग निर्वाचन प्रहरी छिमेकी जिल्लाबाट ल्याएर पदपूर्ति गरिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *