मनाङमा रास्वपाका अनिल गुरुङ मनोनयनबाट बाहिर

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ७

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मनाङका लागि उम्मेदवार बनेका अनिल गुरुङ निर्धारित समयभन्दा करिब चार घन्टा ढिला मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेपछि उम्मेदवारी दर्ता गर्नबाट वञ्चित भएका छन्।

निर्वाचन आयोगले मनोनयन दर्ताका लागि मंगलबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय तोकेको थियो। तर गुरुङ राति करिब ८:४५ बजे मात्र मनाङ पुगेका थिए।

गुरुङका अनुसार पार्टीले सोमबार साँझ करिब साढे ५ बजे मात्र टिकट दिएको थियो। सबै प्रक्रिया सकेर निस्कँदा साँझ सवा ६ बजिसकेको र त्यसपछि मनाङ जाने सवारी नपाएकाले उनी काठमाडौंमै फर्किन बाध्य भए।

मंगलबार बिहान साढे ४ बजे आइपुग्ने गरी गाडी रिजर्भ गरिए पनि गाडी एक घन्टा ढिलो आएको उनले बताए। त्यसपछि तनहुँको डुम्रे पुगेपछि गाडी बिग्रिएर करिब दुई घन्टा रोकिँदा यात्रा थप प्रभावित भयो। अन्ततः गोरखाबाट अर्को गाडी मगाएर अघि बढ्दा मनाङ पुग्न रात परिसकेको थियो।

उम्मेदवारी वारेसनामार्फत दर्ता गर्न सकिने व्यवस्था भए पनि बाटोमै मोबाइल बन्द भएपछि कसैसँग सम्पर्क गर्न नसकेको गुरुङको भनाइ छ। दिउँसोसम्म सिडिओसँग सम्पर्कमा रहे पनि मोबाइल अफ भएपछि सम्पर्क विच्छेद भएको उनले बताए।

मनाङ पुगेपछि स्थानीयको घरमा मोबाइल चार्ज गरेर सिडिओ र निर्वाचन अधिकृतलाई सम्पर्क गर्न खोजे पनि फोन नउठेको गुरुङले जानकारी दिए।

निर्वाचन नियमअनुसार तोकिएको समयभित्र निर्वाचन अधिकृतको कार्यालय प्रवेश नगरेमा मनोनयन दर्ता हुन नसक्ने व्यवस्था छ। यही कारण रास्वपाबाट टिकट पाए पनि अनिल गुरुङ उम्मेदवार बन्नबाट वञ्चित भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *