काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान गर्ने उद्देश्यले एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रम धुलिखेलस्थित दुषित थानी हिमालयन रिसोर्टमा कम्पनीका अध्यक्ष श्रीमती प्रेमा राज्य लक्ष्मी सिंहको प्रमुख आतिथ्य तथा प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा आयोजना गरिएको हो।
अन्तर्राष्ट्रिय अभिकर्ता फोरम एमडिआरटी (MDRT) ले सन् २०२६ का लागि तोकेको मापदण्डअनुसार आवश्यक बीमाशुल्क संकलन गर्न सफल अभिकर्ताहरूलाई सो अवसरमा सम्मान गरिएको थियो। देशभरबाट छनोट भएका टिओटीतर्फ २ जना, सिओटीतर्फ ४ जना र एमडिआरटीतर्फ ७७ जना गरी जम्मा ८३ जना अभिकर्ता सम्मानित भएका थिए।
कार्यक्रमको शुभारम्भ अध्यक्ष सिंहले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो। सो अवसरमा सहभागी अभिकर्ताहरूलाई चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक काजिम राजाले जीवन बीमा व्यवसायमा उत्कृष्टता हासिल गर्ने उपायहरूबारे उदाहरणसहित प्रेरणादायी तालिम प्रदान गर्नुभयो। उहाँले अभिकर्ताहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्दै निरन्तर एमडिआरटी लक्ष्य हासिल गर्न उत्प्रेरित गर्नुभएको थियो।
समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृतले कम्पनीलाई अग्रणी स्थानमा पुर्याउन अभिकर्ताहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। अभिकर्ता केन्द्रित नयाँ अभ्यासहरू सुरु गरिएको जानकारी दिँदै यसले उनीहरूको उत्साह र उत्पादकत्व बढाएको बताउनुभयो। साथै एमडिआरटी, सिओटी र टिओटी लक्ष्य पूरा गर्ने अभिकर्ताहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो।
कम्पनीले सञ्चालनमा ल्याएको “चेज योर एमडिआरटी” मासिक योजना अन्तर्गत सफल अभिकर्ताहरूलाई तोकिएको प्रोत्साहन प्रदान गर्नुका साथै सबैभन्दा बढी एमडिआरटी अभिकर्ता उत्पादन गर्न सफल तिनकुने शाखालाई पनि सम्मान गरिएको थियो।
कार्यक्रममा उप–प्रमुख कार्यकारी अधिकृत स्मृति राज कँडेलले सहभागीहरूको स्वागत मन्तव्य दिनुभएको थियो भने नायब महाप्रबन्धक प्रज्वल सायमीले धन्यवाद ज्ञापन गर्नुभएको थियो।
मनोरञ्जनात्मक प्रस्तुति, उत्प्रेरणामूलक तालिम र उच्चस्तरीय सम्मान समारोह समावेश गरिएको कार्यक्रममा सम्मानित बिजनेस लिडरहरूले आफूहरूको मेहनतको उचित कदर भएको महसुस गर्दै गौरवान्वित भएको प्रतिक्रिया दिएका थिए।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्