काठमाण्डौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोटको विषयमा नेकपा एमाले ओखलढुङ्गामा गम्भीर असन्तुष्टि देखिएको छ। पार्टी केन्द्रले जिल्लाको सिफारिस बेवास्ता गर्दै उम्मेदवार तोकेको आरोप लगाउँदै एमाले जिल्ला कमिटीले आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने निर्णय सार्वजनिक गरेको छ।
जिल्ला कमिटीले १८ जनाको आकांक्षी सूची र त्यसमध्ये सहमतिमा पाँच जनाको नाम केन्द्रमा पठाएको थियो। तर केन्द्रले तीमध्ये कसैलाई पनि टिकट नदिई लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापालाई उम्मेदवार बनाएपछि विवाद चर्किएको हो। जिल्ला नेतृत्वका अनुसार यो निर्णय कार्यकर्ता भावना र पार्टी विधिविपरीत छ।
अधिकांश कार्यकर्ताको समर्थन पाएका अम्बिरबाबु गुरुङलाई टिकट नदिइएपछि असन्तुष्टि अझ बढेको छ। जिल्ला अध्यक्ष ज्ञानबहादुर खड्काले विज्ञप्ति जारी गर्दै केन्द्रको निर्णयप्रति औपचारिक असहमति जनाएका छन्।
उता, उम्मेदवार थापा भने आफू सबैको साझा उम्मेदवार भएको दाबी गर्दै जिल्ला फर्केर छलफल गर्ने बताएकी छन्। तर निर्वाचनको मुखमै देखिएको यो आन्तरिक विवादले ओखलढुङ्गामा एमालेको चुनावी भविष्य प्रभावित हुन सक्ने चर्चा सुरु भएको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्