प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार तय गर्न एमाले सचिवालय बैठक आज

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ३

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार छनोट गर्न आज सचिवालय बैठक बोलाएको छ। पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीका अनुसार बैठक दिउँसो १ बजे बस्ने तय भएको छ।

आगामी निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयन दर्ता गर्ने कार्यक्रम रहेकाले त्यसअघि नै उम्मेदवारको अन्तिम टुंगो लगाउन बैठक आह्वान गरिएको हो।

यसअघि एमालेका निर्वाचन क्षेत्रीय समन्वय समिति, जिल्ला समिति तथा प्रदेश समितिहरूले आ–आफ्ना तर्फबाट उम्मेदवारको नाम सिफारिस गरिसकेका छन्। ती सिफारिसमध्ये पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना नेताहरूको नाम सर्वसम्मत रूपमा अघि बढाइएको जनाइएको छ।

हालसम्म कुनै पनि राजनीतिक दलसँग चुनावी गठबन्धन गर्ने निर्णय नभइसकेकाले एमालेले सबै निर्वाचन क्षेत्रमा आफ्नै चुनाव चिह्न ‘सूर्य’ लिएर उम्मेदवार मैदानमा उतार्ने तयारी गरेको छ।

यसअघि सम्पन्न केन्द्रीय कमिटी बैठकले उम्मेदवार चयन गर्ने सम्पूर्ण अधिकार सचिवालयलाई प्रदान गरेको थियो। प्रतिनिधिसभा निर्वाचनको मतदान आगामी फागुन २१ गते हुने तय भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *