काठमाडौं — नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री मोहन बस्नेतले सिन्धुपाल्चोकस्थित आफ्नो घर माओवादीको सक्रियता र हातहतियारले ध्वस्त पारिएको आरोप लगाएका छन्। उनले यस घटनामा स्वदेशी तथा विदेशी शक्तिहरूको पनि संलग्नता रहेको दाबी गर्दै गम्भीर रूपमा आक्रोश व्यक्त गरेका छन्।
भग्नावशेषमा आयोजित कार्यक्रममा बोल्दै बस्नेतले भने, “मेरो तीनकुने र यहाँको घर जलाइयो। माओवादीको सक्रियतामा स्वदेशी–विदेशी शक्तिहरू संलग्न छन्। म सानैदेखि प्रजातन्त्रका लागि लडिरहेको छु, देश रोइरहँदा म चुप बस्न सक्दिनँ।”
उनले माओवादीको आगजनी, तोडफोड र आतंकवादी गतिविधिमा भूमिका रहेको आरोप लगाउँदै, प्रचण्ड र एमालेका केही नेताहरूले पनि यस्तो हिंसालाई उक्साएको बताए। बस्नेतले सिन्धुपाल्चोकमा नेपाली कांग्रेसले गरेको विकास कार्यको प्रशंसा गर्दै माओवादी गतिविधिलाई ‘गद्दारी’ भनेका छन्।
उनले थपे, “चुनाव भए हामीले ग्यारेन्टी गर्छौं, सबै अवैध गतिविधि विरुद्ध कडा कदम चाल्नेछौं।”
खतरा बाबजुद पनि बस्नेतले जनताका लागि र प्रजातन्त्रको रक्षाका लागि संघर्ष जारी राख्ने प्रतिबद्धता जनाए। उनले स्थानीयवासीलाई आफ्नो सम्पत्तिको रक्षामा सतर्क र एकजुट हुन आग्रह गरेका छन्।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्