काठमाडौं — नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष सुजन कडरियाले जेन-जी आन्दोलनको क्रममा ज्यान जाने खतरा भएपछि आफूलाई सामाजिक सञ्जालमार्फत जबरजस्ती राजीनामा दिन बाध्य बनाइएको खुलासा गरेका छन्।
फेसबुकमार्फत सार्वजनिक मन्तव्य दिँदै उनले त्यो बेला लेखिएको राजीनामा पोस्ट नगरेको भए सम्भवतः आफू आज जिउँदो नै नहुने दाबी गरेका छन्। उनले स्पष्ट पारेका छन् कि कुनै पनि संगठनबाट आफूले आधिकारिक रूपमा राजीनामा दिएका थिएनन्।
कडरियाले लेखेका छन्, “हो, मलाई मार्न आएका हुन्, यो सत्य हो। मलाई हातपात पनि भयो र मार्न खोजियो। एकजना चिनेको भाइले बचाएको हो, उसप्रति जीवनभर कृतज्ञ रहनेछु।”
उनले अब भने कसैले मारे पनि एमाले नछाड्ने दृढ अठोट व्यक्त गरेका छन्। उनका अनुसार, अहिलेको चुनौतीपूर्ण अवस्थामा सबैले एकअर्कालाई दोष दिने होइन, संयमित भएर एकताको भावना बनाउन जरुरी छ।
कडरियाले भनेका छन्, “आज हामी सबैले एकअर्कालाई दोषारोपण होइन, एकताभावका साथ संयमित हुन जरुरी छ। यस्तो बेलामा संविधान रक्षाको निमित्त सबै एक हुन जरुरी छ। यतिबेला अब कसैले मारे पनि एमाले छोड्दिनँ, यो नै सत्य हो।”
उनले हालको परिस्थितिले एमाले नै देशलाई माया गर्ने पार्टी भएको पुष्टि भएको पनि उल्लेख गरेका छन्।



दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्