
काठमाण्डौँ । सरकार र सत्ता गठबन्धनलाई लिएर बाहिर भइरहेका आशङ्का र गलत प्रचारलाई कामबाटै जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहमत भएका छन् ।
दुवै दलका नेताहरूका अनुसार गठबन्धन र सरकारबारे फैलाइएको भ्रम निस्तेज पार्ने, गभर्नर नियुक्ति जतिसक्दो चाँडो गर्ने, सङ्क्रमणकालीन न्याय (टीआरसी) प्रक्रिया समयमै टुङ्ग्याउने र शिक्षक आन्दोलन लगायतमा भइरहेका प्रगति तथा अवरोधबारे छलफल भएको थियो ।
सत्ता समीकरण फेरबदल हुने र सरकार परिवर्तन हुने भनेर सत्तापक्षदेखि प्रतिपक्षी दलका नेतासम्मले दिएको अभिव्यक्तिले राजनीतिक तरङ्ग उत्पन्न भइरहेका बेला प्रधानमन्त्री ओली र सभापति देउवाबिच शनिबार राति बालुवाटारमा करिब २ घण्टाभन्दा बढी छलफल भएको हो । छलफलमा मुख्यगरी चार विषयमा चर्चा भएको बताइएको छ ।
भेटवार्तामा ओली र देउवाका अलावा कांग्रेस नेता तथा गृहमन्त्री रमेश लेखक र उपप्रधानमन्त्री समेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलसमेत सहभागी थिए । त्यसक्रममा सरकारबारे बढ्दो आशङ्का कम गर्न दुवै पक्षले उपयुक्त भूमिका निर्वाह गर्नुपर्नेमा नेताहरू सहमत भएका हुन् ।
शीर्ष नेताबिच विशेषगरी राजनीतिक वृत्तमा फैलाइएका हल्लाका सम्बन्धमा छलफल हुनका साथै तत्काल सरकारले गर्नुपर्ने कामबारे कुराकानी भएको मन्त्री पौडेल र लेखकले बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया