
काठमाण्डौँ । चैत १५ मा गणतन्त्रको पक्ष र विपक्षमा काठमाडौँमा प्रदर्शन हुँदै छ । समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) , नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्दै छन् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को नेतृत्वमा पूर्व राजाका समर्थकले तीनकुनेमा प्रदर्शन गर्ने भएका छन् ।
आइतबार गृह मन्त्रालयमा बसेको सुरक्षा समितिको बैठकमा चैत १५ मा हुने दुई वटा प्रदर्शनबारे छलफल भएको छ । समाजवादी मोर्चा र प्रसाईँको नेतृत्वमा हुने पुर्वराजा समर्थको प्रदर्शनमा देखिनसक्ने सुरक्षा चुनौतीबारे छलफल भएको बैठकमा सहभागी एकजना उच्च अधिकृतले बताएका छन् ।
केन्द्रीय सुरक्षा समिति बैठकमा गृहमन्त्री रमेश लेखक, गृह मन्त्रालयका सचिव गोकर्णमणि दवाडी, आईजीपी दीपक थापा, सशस्त्र प्रहरीका आईजी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र नेपाली सेनाका प्रतिनिधि सहभागी थिए ।
बैठकमा पूर्वराजा समर्थकहरुको गतिविधि, स्वर्गद्वारी पीडितहरूको प्रदर्शन र अस्थायी शिक्षकहरूले गर्ने भनिएको प्रदर्शनबारे छलफल भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया