
काठमाडौँ : प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीका अध्यक्ष पुष्पकमल दाहालको अवसरबाद, अस्थिर सोच, आडम्बर र दाउपेचकै कारण दुई ठूला दलबीच बाध्यात्मक समीकरण बन्न पुगेको बताएका छन् ।
राजनीतिक स्थायित्व, सुशासन र विकास तथा जनतामा आशा–भरोसा जगाउन आफूहरूले गरेको इमानदार प्रयास दाहालकै कारण सफल हुन नसकेको समेत उनले टिप्पणी गरेका छन् ।
एमालेको आठौं केन्द्रीय कमिटी बैठकमा आइतबार ४७ पृष्ठ लामो प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले ०७९ को चुनावमा कुनै पनि दलले बहुमत नल्याएपछि राजनीतिक स्थायित्वका लागि कांग्रेससँग समीकरण गर्ने प्रयास गरेको तर सफल नभएपछि माओवादीसँग मिल्ने बाध्यात्मक विकल्प छनोट गरेको बताएका छन् । त्यसपछि पनि आशंका हुँदाहुँदै दोस्रो पटक गत फागुनमा माओवादीलाई उदारतापूर्वक सहयोग गरेको तर धोका पाएपछि कांग्रेससँग सहकार्य गर्नुपरेको उनले प्रतिवेदनमा उल्लेख गरेका छन् । ०७९ पुस १० मा बनेको एमाले–माओवादी गठबन्धन दुई महिनामै भत्किएको थियो । त्यसपछि बनेको कांग्रेस–माओवादी गठबन्धन ०८० फागुन २१ मा टुटेर फेरि एमाले–माओवादी समीकरण तयार भएको थियो ।
एमाले–माओवादी गठबन्धन सरकार भएकै बेला गत असार दोस्रो सातातिर तत्कालीन प्रधानमन्त्री दाहालले ‘राष्ट्रिय सहमतिको सरकार’ का नाममा सरकारमा सहभागी हुन कांग्रेसलाई गरेको प्रस्तावबारे कांग्रेस नेताहरूबाटै आफूले जानकारी पाएको ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन्
फेसबुकबाट तपाईको प्रतिक्रिया