
काठमाडौँ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रलाई अझ विश्वसनीय र सुदृढ बनाउनु आजको आवश्यकता भएको बताएका छन्। मंगलाबार काठमाडौँमा राष्ट्रिय मेलमिलाप दिवस एवं सय दिने विशेष अभियान समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
सभापति देउवाले गणतन्त्रलाई सफल पार्न अझ विश्वसनीय बनाउनुपर्ने बताए। उनले अहिले राष्ट्रिय मेलमिलापको नीतिबाट एकताबद्ध रूपमा अघि बढिरहेको भन्दै सम्पूर्ण नेपालीलाई एक सूत्रमा एकताबद्ध गर्नुपर्ने जिकिर गरे। ‘आजको यो जुन गणतन्त्र छ, यसलाई सफल पार्न अझ विश्वसनीय बनाउनु हामी सबैको कर्तव्य छ। मलाई लाग्छ, यो गणतन्त्र स्थायी रहन्छ, अझै सुदृढ बनाउनुपर्छ। अझै प्रभावकारी बनाउनुपर्छ। राष्ट्रिय मेलमिलापको नीतिबाट एकताबद्ध रूपमा हामी अघि बढिरहेका छौँ, यसलाई अझ अघि बढाउनुपर्छ,’ उनले भने।
सभापति देउवाले सम्पूर्ण नेपालीहरूको बीचमा एकता गर्नु आजको आवश्यकता भएको बताए। सबै नेपालीलाई राष्ट्रिय एकताको एक सूत्रमा बाँध्न जरुरी रहेको उनको भनाइ छ। उनले भने, ‘पूर्वका हुन् वा पश्चिमका हुन्, उनीहरूका विभिन्न चाहनाहरू होलान् तर त्यसको समन्वय गरेर एकताबद्ध भई एक सूत्रमा बाँकी राष्ट्रिय सूत्रमा बाँधिनुपर्छ।’
सभापति देउवाले कांग्रेसका लागि मात्रै नभइ देशभरका सबै नागरिकका लागि नै राष्ट्रिय मेलमिलाप अत्यावश्यक रहेको उल्लेख गरे।
फेसबुकबाट तपाईको प्रतिक्रिया