ओखलढुंगा । ओखलढुंगाका सत्तारुढ दुईदलीय जिल्ला संयन्त्र (नेपाली कांग्रेस र नेकपा एमाले) बीचको पहिलो बैठक ५ बुँदे निर्णय गर्दै सम्पन्न भएको छ । बैठकले ओखलढुंगाको विकास निर्माण, उपनिर्वाचन, स्थानीय तहमा समन्वयलगायतका विषयमा निर्णय गरेको छ ।
संयन्त्रले जिल्लाको समग्र विकास निर्माणका लागि साझा अवधारणा निर्माण गर्न नेपाली कांग्रेसका जिल्ला सचिव अजय लुइटेल र नेकपा एमालेका जिल्ला सचिव अशोककुमार थापालाई जिम्मेवारी दिने र उक्त कायदलले आगामी बैठकमा अवधारणा पेश गर्ने निर्णय गरेको छ ।
यस्तै विकास निर्माणकै सन्दर्भमा जिल्लाका कतिपय विकास निर्माणहरु सम्पन्न हुन नसकेकोप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गर्दै यथाशीघ्र सम्पन्न गर्न पहल गर्ने तथा जिल्ला भित्रको बाढी पहिरो प्रभावित क्षेत्रहरुमा हालसम्म पनि उचित राहत एवं पुननिर्माण सम्पन्न हुन नसकेको अवस्थालाई मध्यनजर गरी शीघ्र राहत व्यवस्था गराई पुनर्निर्माणका लागि सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ ।
संयन्त्रले आगामी मंसिर १६ मा गते हुने उपनिर्वाचनलाई व्यवस्थित तथा मर्यादित बनाई सम्पन्न गर्न दुई पार्टीबीच समधुर सम्बन्ध कायम राख्न नेपाली कांग्रेसका जिल्ला सभापति तेजन खनाल र नेकपा एमालेका जिल्ला अध्यक्ष ज्ञानबहादुर खड्का (जीबी) लाई जिम्मेवारी दिने निर्णय गरेको छ । संयन्त्रको अर्को निर्णयमा सत्ता सञ्चालनमा रहेका दुई दलबीच भएको सत्ता साझेदारीलाई जिल्लाको ८ वटै स्थानीय तहमा सुदृढ र सबल बनाउन स्थानीय तहमा समन्वय गर्ने र विभिन्न तहमा सत्ता साझेदारी संयन्त्र समेत निर्माण गर्ने निर्णय गरेको छ । बैठकले दुईदलीय केन्द्रीय निर्णयप्रति हार्दिक धन्यवाद ज्ञापन समेत गरेको छ ।
बैठकमा नेकपा एमालेका केन्द्रीय सदस्य, जिल्ला ईञ्चार्ज तथा संविधानसभा सदस्य यज्ञराज सुनुवार, ओखलढुंगा कांग्रेसका सभापति तेजन खनाल, ओखलढुंगा एमालेका अध्यक्ष ज्ञानबहादुर खड्का (जीबी), नेपाली कांग्रेसका जिल्ला सचिवद्वय अजय लुइटेल तथा राजकुमार ढुंगाना र एमाले जिल्ला सचिव अशोककुमार थापा सहभागी थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया