×

एमालेका ८ महासंघका अध्यक्ष र इन्चार्जहरूले ओलीसँग गरे छलफल

कार्तिक २८, २०८१ | दाक्सु मिडिया

काठमाडौं : नेकपा (एमाले) का ८ महासंघीय ढाँचामा रहेका ८ जनसंगठनका नेताहरूले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग म‌ंगलबार बालुवाटारमा छलफल गरेका छन्।

पार्टीका महासंघीय ढाँचामा रहेका जनसंगठन र उनीहरू मातहत रहेका घटक संगठनहरूबीच संगठन सञ्चालन, सदस्यता वितरण लगायतमा दोहोरोपना देखिएको भन्दै आवाज उठेको थियो।

त्यसलाई प्रष्ट पार्न पार्टी अध्यक्ष ओलीसँग छलफल गरिएको केन्द्रीय सदस्य रचना खड्काले जानकारी दिइन्। उनले १४ वटा विषयमा आधारित भएर छलफल गरिएको जानकारी दिइन्। उनकाअनुसार एमालेमा अहिले ८ वटा महासंघीय ढाँचाका जनसंगठन छन्। यी मातहत १६० वटा घटक संगठन छन्।

‘महासंघ भनेकै विभिन्न वस्तुगत संगठनहरूको छाता संगठन हो र वस्तुगत घटकहरू बलिया भएनन् भने महासंघ बलियो हुँदैन भन्ने मान्यतासहित महासंघ सञ्चालन गर्नुपर्छ भन्ने विषयमा नै छलफल भयो,’ उनले भनिन्, ‘विषयगत घटकहरूमा भन्दा महासंघमा नै एकैपटक संगठित गर्न खोजियो भने घटकहरू कमजोर हुन्छन्। महासंघलाई घटकहरूको प्रतिनिधित्वमा आधारित बनाउनुपर्छ भन्ने हाम्रो छलफलको विषय थियो।’

पेसागत कार्यक्षेत्रभित्र एक जना व्यक्तिलाई नेकपा (एमाले) मै आवद्ध एकभन्दा बढी जनसंगठनले संगठित गर्ने अवस्था रहेको भन्दै सदस्यता वितरण घटक संगठनहरूले नै गर्ने र महासंघहरूले घटक संगठनहरूको काम र एजेन्डामा सहजीकरण गर्ने गरी कार्यक्षेत्र छुट्टयाइएको उनले बताइन्।

एमालेमा अहिले २३ वटा जनसंगठन छन्। ती मध्ये ८ वटा; अखिल नेपाल किसान महासंघ, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, पेसागत महासंघ, नेपाल, नेपाल उद्योग तथा व्यवसायी महासंघ, नेपाल खेलकुद महासंघ, जनसाँस्कृतिक महासंघ, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ महासंघीय ढाँचामा छन्।

अखिल नेपाल पिछडावर्ग (ओबीसी) महासंघ पनि महासंघीय ढाँचामै रहे पनि त्यस मातहत घटक संगठनहरू बनिसकेका छैनन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: