×

संविधानप्रदत्त अधिकार नदिँदा सङ्घीयताबारे गलत भाष्य सिर्जना: मुख्यमन्त्री सिंह

भदौ २४, २०८१ | दाक्सु मिडिया

काठमाडौं : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संविधानप्रदत्त अधिकार नदिँदा सङ्घीयताबारे गलत भाष्य सिर्जना भएको बताएका छन्। फेडरलिज्म एन्ड लोकलाइजेसन सेन्टर काठमाडौँद्वारा आइतवार जनकपुरधाममा आयोजित सङ्घीयता सबलीकरणसम्बन्धी एक वृहत्त अन्तरसंवादमा मुख्यमन्त्री सिंहले सङ्घीयतापछि प्रदेश र स्थानीय तहमा शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायतका क्षेत्रमा विकासले तीव्रता लिएको र त्यसको परिणामस्वरूप गाउँठाउँको मुहार नै परिवर्तन भएको बताए।

उनले प्रदेश सरकारले जनताका लागि सबै क्षेत्रका लागि अत्यावश्यक संरचना तथा संयन्त्र निर्माण तथा तिनलाई प्रभावकारी ढङ्गले चलायमान बनाएको भन्दै अधिकारविहीन अवस्था र सिमित साधनस्रोतका बाबजुद प्रदेशले प्राप्त गरेका ती उपलब्धीलाई कम आँक्न नसकिने प्रस्ट्याए।

उनले कोभिडकालमा प्रदेश र स्थानीय तहले निर्वाह गरेको सफल र प्रभावकारी भूमिकाकै कारण हजारौँ नागरिकको ज्यान जोगिएको उल्लेख गर्दै त्यो सङ्कटका बेला सङ्घको भर परेका भए परिस्थिति भयावह र दुर्भाग्यपूर्ण हुने स्मरण गरे। ‘एउटा दृष्टिले कोरोना महामारीका बेला नै सङ्घीयताको महत्त्व र सार्थकता सिद्ध भइसकेको छ,’ मुख्यमन्त्री सिंहले भने।

उनले प्रदेशलाई प्राप्त अधिकार पूर्ण र पर्याप्त नभएको टिप्पणी गर्दै अधिकारक्षेत्रमा नरहेका ठाउँमा पनि चाहिने कामहरू गरेर प्रदेश सरकारले आफ्नो बलियो उपस्थिति जनाएको उल्लेख गरे।

उनले आधारभूत शिक्षासम्बन्धी अधिकार प्रदेश सरकारको नभएको भए पनि विद्यालयमा भौतिक संरचना निर्माण गरेर गुणस्तरीय र सुविधाजनक पठनपाठनमा प्रदेश सरकारले योगदान पुर्याएको र स्वास्थ्य संस्थाको स्तरोन्नतिका लागि औषधिउपकरणको व्यवस्थापन गरिरहेको उदाहरण दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: