कांग्रेस-एमालेले संविधानको सफल कार्यान्वयन गर्नेछन्: सिटौला

DaksuMedia दाक्सु मिडिया
|
२०८१ श्रावण १६

काठमाडौं : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले संविधानको सफल कार्यान्वयन गर्ने बताएका छन्। कांग्रेस र एमाले मिलेर संघीय सरकार बनाएका छन्। गत असार १७ मा ७ बुँदे सहमति गर्दै उनीहरूले संविधान संशोधनलगायत पनि अघि बढाउने भनेका छन्।

त्यसप्रति लक्षित गर्दै राष्ट्रिय सभामा कांग्रेस दलका नेता सिटौलाले कांग्रेस र एमालेले संविधानको सफल कार्यान्वयन गर्ने विश्वास व्यक्त गरेका हुन्।

‘कांग्रेस र एमाले मिलेर अहिलेको संविधानको सफल कार्यान्वयन गर्नेछन् भन्ने विश्वास छ,’ परिवर्तन अभियान नेपालको पहिलो वार्षिकोत्सवका अवसरमा काठमाडौंको नयाँ बजारमा मंगलबार भएको कार्यक्रममा बोल्दै सिटौलाले भने, ‘कांग्रेस र एमालेबीचको नयाँ समीकरणले मुलुकलाई राजनीतिक स्थायित्व पनि दिनेछ, यसमा शंका गर्नु पर्दैन।’

कार्यक्रममा कांग्रेस काठमाडौंका अध्यक्ष कृष्णसबुज बानियाँले गणेशमान सिंहले हातमा आएको प्रधानमन्त्री पद स्वीकार नगर्दा काठमाडौं पछि परेको टिप्पणी गरे। परिवर्तन अभियान नेपालका अध्यक्ष सुशील भट्टले युवाहरू दलगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्नेमा जोड दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *