काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु सरकारबाट बेदाग निस्किएको उल्लेख गर्दै अबको समय भनेको पार्टी स्थापितमै केन्द्रित हुनु रहेको बताएका छन् ।
नरबहादुर कर्माचार्यको स्मृति दिवसको अवसरलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले भने, “हामी सरकारबाट बेदाग निस्किएका छौँ । न ओम्नी न त गिरिबन्धु । कतैबाट पनि दाग लागेको छैन ।” नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बनेको गठबन्धनले संविधान मिच्ने र परिवर्तन उल्ट्याउने प्रयास गर्ने आशंका व्यक्त गरे ।
“उपलब्धि उल्ट्याउने तयारी यो गठबन्धनले गरेको छ,” उनले भने, “अमूर्तरुपले त्यही भनेको पनि छ । विगतको घटनाक्रम पनि संविधान मिच्ने र परिवर्तन उल्ट्याउने नै छ । संघीयताबाट पछि हट्ने खतरा छ । जसको नेतृत्वमा गठबन्धन बनेको छ । संसद् विघटन गरेको इतिहास छ । उपलब्धिमाथि प्रहार गर्ने खतरा छ । त्यसैले हामी सचेत रहनैपर्छ ।”
उनले अब सरकार होइन, जनतामा जाने बताउँदै भने, “प्रतिगामी कदम चालिन्छन् भन्ने देखेका छौँ । सडक र संसद्बाट पनि हामीले प्रतिवाद गर्नेछौँ ।”
फेसबुकबाट तपाईको प्रतिक्रिया