विपदको बेलामा सरकार धारा पानी खोजेर बसिरहेको छः ठाकुर गैरे

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार २४

प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद ठाकुर गैरेले सरकार बाँसुरी बजाउँदै गीत गाएर बसेको बताएका छन्। सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गैरेले घोर अल्पमतमा परेको सरकार राजीनामा दिनुको सट्टा गीत गाएर र बाँसुरी बजाएर बसिरहेको बताएका हुन्।

‘सरकार घोर अल्पमतमा परेको छ। सरकार यस्तो पनि हुँदो रहेछ.. गाएर बसिरहेको छ। बरू उडायो सपना सबै हुरीले गाए हुने नि,’ उनले भने। उनले बाढी पहिरोले मुलुक थलिँदा प्रधानमन्त्री धारा पानी खोज्दै बसेको आरोप पनि लगाए।

‘सरकारले बहुमत गुमाएपछि धारा उपधार खोज्नु पर्ने कारण छैन। एक मिनेट होइन सेकेन्ड पनि रहने नैतिक आधार रहँदैन,’ उनले भने। सरकारलाई फेरि अस्थिरता, बेथिति, विभाजनतर्फ लैजान सकिन्छ कि भनेर प्रधानमन्त्रीले प्रयत्न गरिरहेको पनि उनले बताए।

‘यही सदनमा पनि तर्क वितर्क गर्ने कोशिस गरिँदै छ,’ उनले भने, ‘विपद र संकटको बेला जनतामा आशा र भरोसा जगाउन तत्काल नयाँ सरकार बनाएर समस्या समाधान गर्न सहजता प्रदान गर्नु राम्रो हुन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *