प्रधानमन्त्रीबाट निकालेको पीडा खप्न नसकेपछि ओली ‘भुक्दै हिँडेको’ छन् : माधवकुमार नेपाल

DaksuMedia दाक्सु मिडिया
|
२०७८ पुष २४

काठमाडौ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन्।

अध्यक्ष नेपालले प्रधानमन्त्रीबाट निकालेको पीडा खप्न नसकेपछि ओली ‘भुक्दै हिँडेको’ भन्दै कोही डाक्टर भए उपचार गरिदिन सुझाव समेत दिए।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ओलीले आफूले गज्जब काम गरेको भनेर गुड्डी हाँक्दै हिँडेको आरोप लगाए।

अध्यक्ष नेपालले ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको टाउकोमा टेकेर आफूलाई अग्लो देखाउन नेकपा एकता गराएको टिप्पणी गरे।

ओलीले पार्टीभित्र सबैलाई अनादर गरेपछि आफूहरूले अलग पार्टी बनाएको उनको दाबी थियो।

अध्यक्ष नेपालले भने, ‘अहिले तपाईंहरूलाई थाहा छ, राप्रपा प्यारो छ, केपी ओलीका लागि। महन्थ ठाकुर प्यारा छन्, केपी ओलीका लागि। विदेशीहरू प्यारा छन्, उनका लागि। तर आफ्नै पार्टीका कार्यकर्ताहरू, जसले उनलाई बा भन्दैनन्। जसले उसलाई पुज्दैनन्। जसले उनको भजन गाउँदैनन्। विचित्र छ, प्रधानमन्त्री बन्ने बेलामा, बालुवाटार जाने बेलामा बरु कार्यकर्ताहरुको जुलुस त्यहाँ पुग्ने गर्दछ।’

ओलीले बालकोटको बार्दलीमा बसेर तथानाम गाली गरेको र त्यो प्रधानमन्त्रीबाट निकालेको पीडा बोलेको नेपालले बताए।

‘पीडा धेरै भइसकेपछि त्यो मुखबाट बाहिर निस्कन्छ। कहिले त्यो बमिट गरेर निस्कन्छ, कहिले शब्दबाट निस्कन्छ। तपाईंहरूमध्ये कोही डाक्टर भए उपचार गरिदिनु भए हुन्छ,’ उनले भने, ‘विचराको त्यो हालत। बालुवाटारबाट बालकोट पुग्नेवित्तिकै भुक्नु परेछ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *