प्रधानमन्त्री देउवा सहभागी हुने भनिएको भाइब्रेन्ट गुजरात’ समिट स्थगित

DaksuMedia दाक्सु मिडिया
|
२०७८ पुष २२

काठमाडौ: प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भनिएको भारतको गुजरात राज्यमा हुन लागेको ‘भाइब्रेन्ट गुजरात’ समिट तत्काललाई स्थगित भएको छ । भारतीय पत्रिका द हिन्दुका अनुसार कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको भन्दै जनवरी १० देखि हुने भनिएको समिट गुजरात सरकारले  सारेको हो। गुजरात सरकारले  समिटको अर्को मिति तय गरेको छैन। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने भनिएको समिटमा सहभागी हुन प्रधानमन्त्री देउवा पुस २५ गते भारत जाने तयारी भइरहेको थियो।

समिट स्थगित भएपछि प्रधानमन्त्री देउवा भारत जाने/नजानेबारे निर्णय भएको छैन।

अब प्रधानमन्त्रीको भ्रमण हुने/नहुनेबारे साँझसम्म जानकारी दिने परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ। 

कोरोनाको तेस्रो लहर बढेकाले गुजरात सरकारले भाइब्रेन्ट गुजरात समिट सारेको हो। गुजरात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह प्रान्त हो। २०१४ मा भारतीय प्रधानमन्त्री हुनुअघि उनी गुजरातका मुख्यमन्त्री थिए।

सन् २००३ देखि सुरू भएको भाइब्रेन्ट गुजरात ग्लोबल समिट दुई/दुई वर्षमा हुने गरेको छ।

भाइब्रेन्ट गुजरातमा विभिन्न देशका राष्ट्र र सरकार प्रमुख, मन्त्रीहरू, विभिन्न कम्पनीका सिइओहरू सहभागी हुन्छन्। 

यसपालिको समिटका लागि देउवासहित रूसका प्रधानमन्त्री मिखाइल मिसुस्तिन, मोजाम्बिकका राष्ट्रपति, मोरिसस र स्लोभेनियाका प्रधानमन्त्रीलाई पनि निम्तो दिइएको थियो।  

गत असारमा पाँचौं पटक प्रधानमन्त्री भएका देउवाले भारतको औपचारिक भ्रमण गरेका छैनन्। यसपालि प्रधानमन्त्री भएपछि देउवा पहिलो विदेश भ्रमणका रूपमा कोप-२६ मा सहभागी हुन बेलायत गएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *