काठमाडौं : राजनीतिक समन्वय समितिले राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनलाई जिताउन आग्रह गरेको छ। बिहीबार बिहान बालुवाटारमा बसेको बैठकले सत्तारुढ गठबन्धनबाट उम्मेद्वार दिएका नेतालाई जिताउने निर्णय गरेको बैठकपछि सरकारका प्रवक्ता एवम् कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास समितिले व्यक्त गरेको बताए। बैठकमा प्रधानमन्त्रीको भारत भ्रमण, प्रतिनिधि सभा सञ्चालन, राष्ट्रिय सभा निर्वाचनको विषयमा छलफल भएको हो।
देउवा पुस २५ गते भारत भ्रमणमा जान लागेका हुन्। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रधानमन्त्री देउवाको दुई दिने भारत भ्रमण स्वीकृत गरेको छ। राष्ट्रियसभा निर्वाचनका लागि मंगलबार १९ पदमा ९ दलका ४३ जनाले उम्मेदवारी दिएका छन्। माघ १२ मा हुने निर्वाचनबाट महिला सात, दलित तीन, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक दुई र अन्य समूह सात जना निर्वाचित हुनेछन् ।
प्रतिपक्षी एमालेले १९ वटै सिटमा उम्मेदवारी दिएको छ। प्रमुख पतिपक्ष दल एमालेविरुद्ध सत्तारुढ गठबन्धनमा आबद्ध दलले साझा उम्मेदवार उठाएका छन्। कांग्रेसले ६, माओवादी केन्द्र र एकीकृत समाजवादीले ५/५ सिट पाएका छन्। जसपाले २ र राजमोले एक सिटमा उम्मेदवारी दिएका छन्। नेपाल मजदुर किसान पार्टीले दुई र लोकतान्त्रिक समाजवादी पार्टीले एक उम्मेदवार उठाएका छन्।
सरकार सञ्चालन गर्न कांग्रेस नेता रामचन्द्र पौडेलको संयोजकत्वमा राजनीतिक समन्वय समिति गठन भएको थियो। समितिको सदस्यमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस नेता कृष्ण सिटौला, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र दुर्गा पौडेल सदस्य रहेको राजनीतिक समन्वय समिति गठन गरेको थियो। मन्त्रिपरिषद्बाट सञ्चार मन्त्री ज्ञानेन्द्र कार्की पनि कार्यदलका सदस्यका रुपमा रहेका छन्।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्