काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सबैभन्दा मन नपराउनेले पनि समर्थन फिर्ता नलिएको बताएका छन् ।
सत्तारूढ नेकपा (एमाले) का अध्यक्षसमेत रहेका ओलीले सबैभन्दा मन नपराउनेलेसमेत समर्थन फिर्ता नलिनुले नै आफ्नो पपुलारिटी पुष्टि गरेको बताएका छन् ।
‘म कति पपुलर रहेछु भने, मलाई सबैभन्दा मन नपराउनेले पनि समर्थन फिर्ता लिएको छैन,’ पत्रकार ऋषि धमलासँको टेलिभिजन अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले भने । ओलीप्रति रुष्ट भएपनि माओवादी केन्द्रले सरकारलाई दिएको सर्थन भने फिर्ता लिएको छैन । प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रलाई समर्थन फिर्ता लिनसमेत चुनौती दिएका छन् ।
‘समर्थन फिर्ता लिए भो नि त,’ प्रधानमन्त्री ओलीले भने, ‘तर फिर्ता त लिएको छैन अहिलेसम्म ।’ उनले माओवादी केन्द्रले सर्थन फिर्ता लिए राजीनामा दिने वा विश्वासको मत लिने बताएका छन् । ओलीले पार्टी एकीकरणपछि दुई पाइलटले जेट विमान हाँकिरहेको भए पनि ल्याण्ड गर्न नपाई प्रचण्ड सिटबाट फाल हानेकोसमेत बताए । ‘हाकिन्जेल हाँक्या हो । ल्याण्ड गर्न पाएको छैन ढोकाबाट जम्प गरेर, पाइलटको सिटबाट फाल हानेपछि के लाग्छ ?,’ प्रचण्डप्रति संकेत गर्दै प्रधानमन्त्री ओलीले भने ।
तत्कालीन एमाले र माओवादी एकता गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपा बनेपछि त्यसबेला प्रधानमन्त्री ओलीले नै जेट विमान हाँक्न दुई पाइलट चाहिने उल्लेख गरेका थिए । साथै प्रधानमन्त्री ओलीले जनादेशविपरीत हुने खालका कामहरू गर्न आफू तयार नभएको बताएका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री छाड्नेबारे कुनै प्रस्ताव आफूले नराखेको प्रधानमन्त्री ओलीको दाबी थियो। प्रधानमन्त्री ओलीले संसदमा अविश्वास प्रस्ताव सामना गर्न तयार रहेको पनि बताए। आफूले बहुमत छँदाछँदै प्रधानमन्त्री पदबाट राजीनामा नदिने ओलीको भनाइ छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया