काठमाण्डौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि देशभरका सबै मतदान केन्द्रमा आजदेखि कर्मचारी र सुरक्षाकर्मी परिचालन गर्ने निर्देशन दिएको छ। सोमबार अपराह्नसम्म सबै कर्मचारी मतदान केन्द्रमा पुगिसक्न परिपत्र गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् ।
दुर्गम तथा सडक सुविधा नपुगेका क्षेत्रका २ सयभन्दा बढी मतदान केन्द्रमा यसअघि नै टोली पुगिसकेको छ । सुदूरपश्चिम र कर्णालीका विकट केन्द्रलाई प्राथमिकतामा राखेर कर्मचारी खटाइएको आयोगले जनाएको छ ।
मतपत्र र अन्य निर्वाचन सामग्रीको सुरक्षा नेपाल प्रहरीले गर्नेछ। सुरक्षाकर्मीलाई २४ सै घण्टा निगरानीमा रहने निर्देशन दिइएको छ ।
मतदान केन्द्रमा पुगेपछि मतदान अधिकृतले चारकिल्ला तोकिएको सूचना टाँस्ने, सर्वपक्षीय बैठक डाक्ने र मतदान प्रक्रिया सञ्चालन गर्नेछन् । मतदान सम्पन्न भएपछि मतपेटिका मुचुल्का गरी सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा बुझाएपछि मात्र कर्मचारी र सुरक्षाकर्मीको जिम्मेवारी पूरा हुनेछ ।
दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्