काठमाण्डौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा जुम्लाको चन्दननाथ मतदान केन्द्रमा सबै कर्मचारी महिला मात्र खटिने भएका छन् । जिल्ला सदरमुकाम खलङ्गा स्थित चन्दननाथ माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगी सबै महिला हुन् ।
मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तका अनुसार महिला कर्मचारीहरूले निर्वाचन आचारसंहिता २०८२ पूर्ण रूपमा पालना गर्दै शान्तिपूर्ण, मर्यादित र व्यवस्थित मतदान सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले आमसञ्चारमाध्यमको भूमिका निर्णायक हुने भएकाले सकारात्मक सन्देशसहित सामग्री सङ्कलन र सम्प्रेषण गर्न आग्रह गरे ।
जिल्लामा कूल ७१ हजार ७३९ मतदाता छन् र निर्वाचनमा ६५४ जना कर्मचारी खटिनेछन्। प्रत्येक मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, तीन सहायक कर्मचारी र एक कार्यालय सहयोगी रहनेछन्। जुम्लामा ११० मतदान केन्द्र र ८५ मतदानस्थल कायम गरिएको छ।
निर्वाचन लक्षित गरी जिल्लाका आठवटा स्थानीय तहका ६० वटै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ। प्रत्यक्षतर्फको ७७ हजार र समानुपातिकतर्फको ८० हजार मतपत्र जिल्लामा पुगेको छ। निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र ९७४ जना निर्वाचन प्रहरी खटिनेछन् ।
जिल्लामा ९२५ अस्थायी मतदाता नामावली सङ्कलन गरिएको छ भने दुईवटा अस्थायी मतदान केन्द्र स्थापना गरिएको छ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्